२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारवायु प्रदुषणको ‘उपज’ खतरामा जनस्वास्थ्य 

वायु प्रदुषणको ‘उपज’ खतरामा जनस्वास्थ्य 


नेपालमा वायु प्रदुषणको कारण मानव स्वास्थ्यमा  जोखिम बढ्दै गइरहेको छ ।  धुलो धुँवाका कण हावामा मिसिन गई वातावरणीय प्रणालीलाई नै नकारात्मक असर पर्दछ । वायुमण्डलमा रसायनहरूको मात्रा, धुलोको कणहरु, जुन ठोस, तरल या ग्याँसको रूपमा सामान्यस्तरभन्दा बढी मात्रामा भयो भने वायु प्रदुषित हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांकअनुसार विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्युको कारण वायु प्रदुषणले भएको दावी छ । वायु प्रदुषणले मानिसलाइ क्रमिक रूपमा रोगी बनाएर मृत्यु गराउने हुनाले ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।

नेपालमा दुई तरिकाले  वायु प्रदुषण भइरहेको छ ।  घरभित्रै उत्सर्जन हुने प्रदुषण (Indoor air pollution) र बाहिरी वातावरणमा उत्सर्जन हुने प्रदुषण (Outdoor air pollution)  हुन् । ग्रामीण भेगमा घरको भान्छामा खाना पकाउँदा दाउरा, गुइठा बाल्दा निस्कने धुवाँका कारणले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।

नेपालमा वर्षेनी सुख्खा खडेरीका कारण वनमा लाग्ने डढेलोको घटनाले वायु प्रदुषण हुन ठूलो असर पार्छ । जंगलमा लागेको डढेलोका कारणले गर्दा मौसम फेरबदल पार्नुका साथै वायुमण्डल नै प्रदूषित भइरहेको छ । प्रदुषणका अन्य स्रोतहरू यातायात क्षेत्र, फोहोर जलाउने, पशुपालन मिथेन उत्सर्जन, इँटा भट्टा, सिमेन्ट कारखानाबाट निस्कने फोहोर पनि मुख्य हुन् । यी कारणले नै अहिले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ  ।

वायु प्रदुषणको कारक तत्व जस्तै पार्टिकुलेट म्याटर कार्वनमोनोअक्साईड, ओजन,  नाइट्रोजन डाइअक्साइड आदि हुन् । मसिना धुलोको कणहरु पार्टिकुलेट म्याटरहरु साइज दायराका विषेशगरी २.५ र १० स्वास्थ्यका लागि हानिकारक प्रदुषकहरू मानिन्छ ।

त्यस्ता सूक्ष्म कणहरुको एक्सपोजरले श्वासप्रश्वास नलीमा पुगेर फोक्सोमा प्रतिकूल असर गर्छ । वायु प्रदूषणको उच्चस्तरको एक्सपोजरले विभिन्न प्रकारका प्रतिकूल स्वास्थ्य परिणामहरू निम्त्याउन सक्छ। यसले श्वासप्रश्वासको संक्रमण, दम, मुटु रोग र फोक्सोको क्यान्सरको जोखिम बढाउँछ। वायु प्रदूषकहरूसँग छोटो र दीर्घकालीन दुवै जोखिम स्वास्थ्य प्रभावहरूसँग सम्बन्धित छ। बालबालिकामा तीव्र श्वासप्रश्वासको संक्रमण र वयस्कहरूमा क्रोनिक ब्रोन्काइटिस, र  थप गम्भीर प्रभावहरूले पहिले नै बिरामी भएका मानिसहरू बढी प्रभावित हुने गरेका छन् ।  यसले स्वास्थ्यका विभिन्न प्रणाली र शरीरका अंगहरूको संख्यालाई असर गर्छ र छोटो र दीर्घकालीन जोखिमहरूले अकाल मृत्युदर हुने गर्दछ ।

नेपालमा २०.५ प्रतिशत मानिसहरु वायु प्रदुषणसंग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । काठमाडौंमा अहिले वायु गुणास्तरको मापन AQI २०० भन्दा बढी छ ।  काठमाडौंमा मात्र प्रदुषणको मापदण्ड विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा करिब पाँच गुणाले बढी रहेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका प्रोफेसर रेजिना मास्केअनुसार अहिले देशको अधिकांश भाग अस्वस्थ्यकर अवस्था (AQI १०० भन्दा माथि) रहेको छ । काठमाडौं उपत्यकाको सबै भाग अस्वस्थ अवस्थामा छ। नेपालको वायु प्रदुषणमा मुख्य स्रोतको रूपमा रहेके डढेलोले लगभग ६० प्रतिशत योगदान गरेको छ । काठमाडौं उपत्यकामा दैनिक २० टन फोहोर जलाएर ५५ टन पार्टिक्युलेट म्याटर (पीएम) निस्कन्छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ८ गुणा बढी रहेको छ।

यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालका अनुसार  वायु प्रदुषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । स्वास्थ्य प्रभावहरूमा कार्डियोभास्कुलर प्रभावहरू: श्वासप्रश्वास दमको आक्रमण र ब्रोन्काइटिस र गर्भवती महिलाहरु वायु प्रदुषणमा बढी संवेदनशील हुन्छन् जस्तैः समयपूर्व जन्म, कम तौलको बच्चा जन्मिने जोखिम बढ्छ ।

नेपाल ग्लोवल बर्डेन अफ रोग २०१९ का अनुसार वायु प्रदुषणसंग सम्बन्धीत रोगका कारण  वार्षिक रुपमा ४० प्रतिशतभन्दा मानिसहरुको मुत्यु भएको तथ्यांकले बताएको छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा वायु प्रदुषणले गर्दा  विभिन्न श्वास प्रश्वास रोगमध्ये (३९.४%) सीओपीडी रहेको देखाएको छ, (२९.१%) निमोनिया र (२५.३%) तीव्र श्वसन रोग प्रमुख थिए । काठमाडौं उपत्यकाका अस्पतालमा श्वासप्रश्वाससम्बन्धी रोगको बिरामीहरुमध्ये (४.८%) दम, (४.८%) ब्रोन्काइटिसका रोगका बिरामीहरु छन् ।

तसर्थ, वायु प्रदूषणको बारेमा चेतना जगाउन, जन-सचेतनाका अभियान संचालन गर्न निकै आवश्यक छ । साथै, विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक क्षेत्रसँग समन्वय गरी उचित नीति, निर्देशिका कार्यक्रमहरु कार्यन्वयन गर्नु पर्दछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ