२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसिन्धुली अस्पतालका प्रमुख डा. उमेश प्रधानको अनुभव: दुई घण्टा त्रासदीभित्र रहँदा…

सिन्धुली अस्पतालका प्रमुख डा. उमेश प्रधानको अनुभव: दुई घण्टा त्रासदीभित्र रहँदा…


९ जेठ राति १२ बजेतिर कमलामाई नगरपालिका—५ की २९ वर्षीया गर्भवती गंगा श्रेष्ठलाई स्वास्थ्यमा समस्या देखिएको रहेछ । मंगलबार दिउँसो १२ बजे उहाँलाई सिन्धुली अस्पतालमा उपचारका लागि ल्याइएको थियो । सोमबार राति १२ बजेतिरबाट ३९ हप्ताकी गर्भवती रहेकी उहाँमा पानी बग्ने समस्या देखिएको रहेछ । त्यो समस्या देखिएको १२ घण्टापछि मात्रै उहाँहरुले अस्पताल ल्याई पुर्‍याउनुभएको थियो ।

अस्पतालमा उहाँलाई गाइनो वार्डमा ल्याइयो । गाइनोकोलोजिष्ट डा. दिनेश मितले बिरामीको स्वास्थ्यबारे जानकारी लिन सुरु गर्नुभयो । बिरामीका श्रीमानले राति १२ बजेबाट पानी बगिरहेको र पेट दुःखिरहेको ब्रिफिङ गर्नुभएछ । डा. मितले भन्नुभएछ, ‘विहानै किन नल्याउनुभएको, अस्पतालमा त २४ सैं घण्टा सेवा उपलब्ध हुन्छ ।’ अस्पतालमा उहाँको उपचार सुरु भयो । भिडियो एक्स—रे गरेर हेर्नुपर्ने डा. मितले बताउनुभएछ । उपचार सुरु गरिएको १५ मिनेपछि उहाँलाई थप गाह्रो भएपछि भिडियो एक्स—रे गर्न पठाउन सकिएन् । त्यसपछि चिकित्सकहरुले औषधि चलाएर ‘स्टेबल’ बनाउने प्रयास गर्नुभयो ।

त्यही क्रममा अस्पतालका एमडिजी डा. प्रेरित देवकोटा र एनेस्थेसिया डा. सजिना सिलवाल र डा. मितले बिरामीबारे थप छलफल गर्नुभयो । चिकित्सकहरुले सुत्केरी गराउनेलगायतका तयारी सुरु गरे । बिरामी पक्षलाई सकेसम्म यही सुत्केरी गराउने, भेन्टिलेटर र आईसीयुको आवश्यकता पर्ने अवस्था आएमा धुलिखेल रिफर गर्ने काउन्सिलिङ गर्नुभयो । किनभने, हामी कहाँ भेन्टिलेटर र आईसीयु छैन । त्यसमा बिरामी पक्ष सहमत भएपछि थप प्रक्रिया अगाडि बढाउँदैं गर्दा बिरामीमा थप असहजता देखिन थाल्यो । साढे १ बजेदेखि पौने दुई बजेको बीचमा उहाँको शरीर फुल्न थाल्यो । यतिन्जेल अक्सिजन भने मास्कबाट ‘मेन्टेन’ भइरहेको थियो । पौने तीन बजेतिर ‘लेवर रुम’मा डेलिभरी गराउन लाने तयारी गर्दागर्दै उहाँमा अक्सिजन स्याचुरेसन निकै कम भइसकेको थियो ।

अक्सिजन मास्कले मेन्टेन नहुने भएपछि हाम्रो अस्पतालको चिकित्सक टिम रिफर गर्ने निर्णयमा पुग्यो । बिरामीको ‘इन्टू«बेसन’ गरियो । उनलाई ‘इन्ट्रूबेसन’ गर्दा ‘रिकुरोनियुम—५०’ एमजीको इन्जेक्सन दिइएको थियो । हामीले रिफर गर्दा अक्सिजन लेभल ७२/७० थियो । रक्तचाप र अन्य कुराहरु पनि नर्मल नै थिए । दुःखाइ बढी थियो भने श्वास फेर्न समस्या भइरहेको थियो । मंगलबार दिउँसो ३ः१५ बजेतिर बिरामीका आफन्तहरुकै आग्रहमा वर्दिवासस्थित ओम साई ट्रमा हस्पिटलमा बर्दिवासमा रिफर गर्‍यौं । सामान्यतयाः हामीले बिरामीहरुलाई धुलिखेल अस्पतालमा रिफर गर्छौ । तर, उहाँहरुले नै वर्दिवास लैजाने भनेपछि हामीले त्यही पठायौं । हाम्रै अस्पतालको एम्बुलेन्समा उहाँलाई बर्दिवास लैजाने प्रबन्ध मिलायौं ।

बर्दिवासमा ओम साई अस्पताल पुर्‍याउन्जेलसम्म बिरामीको अवस्था क्रिटिकल भइसकेको रहेछ । उहाँको स्यासुरेसनको समस्या बढेको रहेछ । बर्दिवासको ओम साई अस्पतालमा पुर्‍याउँदा पौने ४ बजेको बिरामी पक्षको भनाइ छ । अस्पतालले ५ बजेतिर बिरामीको मृत्यु भएको घोषण गरेछ । ओम साई ट्रमा सेन्टरमा कसले ‘इन्ट्रूबेसन’ गर्दा दिइएको औषधि गलत भन्दैं प्यासेन्ट पार्टीलाई मिस गाइड गरिदिएछन् । बिरामीको मृत्युपछि आफन्तले अस्पताललाई बच्चा र आमा छुट्याएर सदगद गर्ने निधो गर्नुभएछ । ओम साई अस्पतालमा त्यसका लागि ४० हजार रुपैयाँ खर्च लाग्ने बताएछ ।

त्यसपछि उहाँहरुले हामीलाई आग्रह गर्नुभयो । हामीले त्यसका लागि स्वीकृती प्रदान गर्‍यौं । त्यसपछि लाश सिन्धुली अस्पताल ल्याउने प्रक्रिया अगाडि बढाइयो । उहाँहरु हाम्रै एम्बुलेन्समा आउनुभयो । साढे ५ बजेतिर हामीहरु अस्पतालमा कसरी बच्चा र आमालाई छुट्याउने भनेर बैठक गरिरहेका थियौं । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. दिनेशले त्यसका लागि प्रसुति गृहका वरिष्ठ चिकित्सकहरुको सुझाव लिनुभयो । प्रसुतिका चिकित्सकहरुले ‘मृतकको शल्यक्रिया गर्नुभन्दा पोष्टमार्टम गरेर बच्चा र आमालाई अलग गर्न राम्रो हुने’ सुझाव दिनुभयो ।

हामीहरु बैठक गरिरहेकै बेला क्रमसः बाहिर भिड बढ्दैं गयो । भिड बढ्दैं गएपछि होहल्ला र नाराबाजी सुरु भयो । यो ओम साई अस्पतालमा कसले बिरामी पार्टीलाई गलत औषधि दिएको भन्नाले भीड यो अवस्थामा आएको आशंका हाम्रो छ । तर, त्यहाँको म्यानेजरले भने आफूले त्यसो नभनेको मलाई बताउनुभएको छ । जम्मा भएको भिडले ‘कुन डाक्टरले बिरामीको उपचार गरेको हो झिकाऊ, बाहिर निकाल ?’ भन्दैं आक्रोश व्यक्त गर्न थाले । यस्तो अवस्थामा उपचारमा संलग्न चिकित्सकलाई बाहिर पठाउनु निकै जोखिमपूर्ण थियो । आवेगमा रहेको भिडले हातपात, कुटपिट अथवा जे पनि गर्न सक्थ्यो । सेक्युरिटीका कारणले हामीले उहाँलाई बाहिर पठाएनौं ।

त्यसपछि नाराबाजी झन उग्र बन्यो । हामी बिरामी पक्षलाई समेत सहमति ल्याएर हुन सक्ने सम्भावित जोखिमलाई कम गर्ने प्रयासमा लाग्यौं । त्यसका लागि जिल्ला प्रहरी कार्यलयमा बिरामी पक्षलाई समेत राखेर छलफल अगाडि बढाइरहेका थियौं । तर, यही नै बेला उग्र प्रदर्शनमा उत्रिएको भिडले अस्पतालमा तथानाम गाली गलौज मात्रै गरेन्, तोडफोड समेत सुरु गर्‍यो । अस्पतालको भौतिक पूर्वाधार पनि क्षति पुगेको छ । अस्पतालका १५—२० वटा सिसाका झ्याल फुटेका छन् । झण्डै दुई घण्टा बाहिर तोडफोड चलिहरँदा नर्स, स्वास्थ्यकर्मी, चिकित्सक र बिरामीहरु २०—२५ जना मानिस अस्पतालभित्रै बन्धक बन्यौं । राति १०—११ बजेसम्म अस्पतालमा डरलाग्दो वातावरण थियो । अस्पतालमा दुई घण्टा त निकै त्रासदीपूर्ण वातावरण थियो, जुन म अहिले सम्झन पनि चाहन्न ।

आज (बुधबार) विहान प्रमुख जिल्ला अधिकारीको कार्यलयमा बिरामी पक्षसँग छलफल भएपछि घटनाको निष्पक्ष छानविनका लागि समिति गठन गर्ने सहमति बनेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट दुई जना, जिल्ला स्वास्थ्य कार्यलयका एक जना र बिरामीको तर्फबाट एक जना प्रतिनिधीले घटनाको सत्यतथ्य छानविन गर्नेछ । यसरी अस्पतालमा तोडफोड र गाली गलौजको डरलाग्दो वातावरण सिर्जना हुनु दुःखद् छ । चिकित्सकले गर्ने उपचारमा शंका लागेको कानुनी उपचार खोज्नुपर्छ । त्यसका लागि मेडिकल काउन्सिल, प्रहरी प्रशासनलगायतका संस्थाहरु छन् ।

(सिन्धुली अस्पतालमा मेसु डा. प्रधानसँग हेल्थआवाजले गरेको कुराकानीमा आधारित)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ