२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिसिएमसीको बैठकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशंसा

सिसिएमसीको बैठकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशंसा


जुम्ला –  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धी बनेको उच्च स्तरीय समिति सिसिएमसीको बैठकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रशंसा भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा खेलेको भुमिका प्रति बैठकमा प्रशंसा गरिएको हो ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले  सिसिएमसीको बैठकमा प्रतिष्ठानले कर्णाली प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी गरेको काम र तयारीका बारेमा प्रस्तुत गरेका थिए । उनकाे प्रस्तुती पछी  उच्च स्तरीय समिति सिसिएमसीका पदाधिकारीहरुले प्रतिष्ठानले गरेको कामप्रति सन्तुष्ट व्यक्त गरेकाे प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

प्रतिष्ठानले परिचालन गरेको जनशक्ति र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको तवर तरिका (मोडालिटी) देश भरी नै प्रयोग गर्नुपर्ने समितिका सदस्यहरुको धारणा राखेकाे  थिए  ।

प्रतिष्ठानले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए-नभएको पत्ता लगाउन पीसीआर परीक्षणको दायरा बढाउँदै गएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २२ वैशाखदेखि कोरोना पीसीआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले बताए ।

मन्त्रालयले यसै शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ हजार २९५ जनाको पीसीआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा दुई हजार ७६० जनाको पीसीआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको उनले बताए ।

तेस्रो स्थानमा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दुई हजार ३७९ जनाको पीसीआर भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । कर्णाली प्रदेशकै सुर्खेतमा भने दुई हजार २९४ जनाको पीसीआर भएको छ ।

प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पीसीआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म दुई हजार ७६० जनाको परीक्षण भएको छ । सबैको नतिजा नेगेटिभ आएको छ । प्रतिष्ठानले प्रयोगशाला प्रमुख विवेक पुन मगरको नेतृत्वमा परीक्षण कार्य गरिरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पीसीआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा विजय अर्यालयले पीसीआर मेसिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले चीनमा यसअघि नै उक्त मेसिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।

जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पीसीआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिमसमेत लिएका हुन् ।

रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । उनका अनुसार प्रतिष्ठान आफैँले थप दुई हजार भिटीएम खरिद गरिसकेको छ । ती भिटीएम मङ्गलबारसम्म जुम्ला पुग्ने उनले बताए ।

प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकोप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब सङ्कलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि कर्णालीका ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ