२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकानुनले रोक्न नसकेको छाउपडी प्रथालाई अन्त्य गर्ने लक्ष्य सहितको गोठमुक्त अभियान

कानुनले रोक्न नसकेको छाउपडी प्रथालाई अन्त्य गर्ने लक्ष्य सहितको गोठमुक्त अभियान


जुम्ला – कर्णाली प्रदेशमा कानुनले रोक्न नसकेको छाउपडी प्रथालाई अन्त्य गर्ने लक्ष्य सहितको गोठमुक्त अभियान चलिरहेको छ।  स्थानीय सरकार तथा सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीमा चेतना फैलाउँदै छाउपडी  प्रथालाई समाजबाट अन्त्य गर्ने गोठमुक्त अभियानमा जुटेका हुन् ।

जुम्लामा सामाजिक विकृतिको रूपमा रहेको छुई प्रथा न्यूनीकरण गर्ने अभियान अहिले धमाधम भइरहेको छ । अहिले स्थानीय तह र सामाजिक संघसंस्थाको अभियानमा जुम्लाका २७ गाउँवस्ती छुई गोठमुक्त भएका छन् । महिनावारीको समयमा गोठमा बस्ने चलन अब भने धमाधम मानसिक रूपमै भत्किन थालेका छन् । धमाधम छुई गोठमुक्त अभियान चलिरहेको समयमा पछिल्लो समयमा यहाँका २७ गाउँलाई स्थानीय सरकार र साझेदार गैरसरकारी संस्थाको समन्वयनमा छुई गोठमुक्त घोषणा गर्दै अभियान तीब्र पारिएको छ ।

महिला तथा सरोकारवाला निकायहरूले तातोपानी गाउँपालिका वडा नं. ४ हाँकुगाउँलाई छुई गोठमुक्त गरेको छ । तातोपानी गाउँपालिकाको र सर्वाेदय नेपाल जुम्लाको समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रूपमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गराई छुई गोठमुक्त गाउँ घोषणा गरिएको हो ।

तातोपानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष धीरज जैशीले महिला र धामीझाँक्रीलाई सचेत गराउँदै सामाजिक कु-संस्कारका रूपमा रहेको छुई प्रथा गाउँ वस्तीबाट हटाउने अभियानमा लागेको बताए ।

वडा अध्यक्ष धीरज जैशीले भने, ‘यो अभियान कुनै धामीझाँक्रीका विरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान हो । यसमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ । ’

यस्तै, जुम्लाका ७ गाउँपालिका र एक नगरपालिकाका २१८ गाउँवस्तीमध्ये २७ गाउँवस्ती छुई गोठमुक्त भएका छन् । तिला गाउँपालिकाको पुरु गाउँसहित पोख्री, रावतवाडा, जोगीवाडा, ढिमकोट, चुलाकोट, थापागाउँ, डुङरी, खोलीगाउँ छुई गोठमुक्त भएका छन् भने तातोपानी गाउँपालिका, लाम्रा, श्रीनगर, हियाखोला, बाइराँका र जैतपुर गाउँ यसअघि नै छुई गोठमुक्त भइसकेका छन् ।

तातोपानी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँगीका अनुसार आवश्यक सूचकहरू पूरा गरेको लाम्रा, हियाखोला, जैतपुर बाइराका गाउँलाई छुई गोठमुक्त गरिएको हो । यस गाउँमा ५३ घरधुरीमा २६३ जनसंख्या रहेको छ । सबै घरधुरीलाई पुग्ने गरी सरसफाइका सामग्री पनि वितरण गरिएको डाँकाले बताए ।

पछिल्लो समय तिला गाउँपालिका वडा नं. ३ दानीवाडा र कठायतवाडा गाउँ र पातारासी गाउँपालिकाको वडा नं. ४ लुम र भोडगाउँ छुई गोठमुक्त गाउँ घोषणा गरिएका छन् ।

तिला गाउँपालिकाका दानीवाडा कठायतवाडाका १७२ घरधुरीका ८६० र पातारासी-४ लुमगाउँपालिका लुमगाउँको ३७४ घरधुरीका १ हजार ८७० स्थानीयवासी सहभागी भई छातीमा हात राखेर ‘हामी महिलाहरूलाई महिनावारीको समयमा गोठमा बसाउँदैनौँ र बस्दैनौँ’ भन्दै प्रतिवद्धता समेत गरेका छन् ।

यता, तिला गाउँपालिकाको पुरु, ढिमकोट, रावतवाडा, जोगिवाडा, पोख्री, चुलाकोट, डुग्री, खोलीगाउँ छुई गोठमुक्त घोषणा गरिएका छन् । हिमा गाउँपालिकाको कोइरेली, महावै पाथरखोला र पातारासीको माथि लोर्पा, तली लोर्पगाउँ छाउ गोठमुक्त गाउँ घोषणा भएका छन् ।

नेपालीको सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा महिला महिनावारी भएको अवस्थामा छुट्टै गोठमा बस्ने र अरु व्यक्तिलाई छुन नहुने चलन छ । यो चलन अहिलेको होइन । पुस्तौ-पुस्तादेखि यो चलन रहि आएको छ । महिलाहरु महिनावारी भएको अवस्थामा ७ दिनसम्म गोठ (छुइखुल्लो)मा बस्ने गर्दछन् ।

महिनावारी भएको अवस्थामा गोठमा बस्नु स्वास्थ्य र सुरक्षाका हिसाबले महिलालाई चुनौैती हुने गर्दछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलका अनुसार महिनावारी भएको अवस्थामा महिलाको शरिर कमजोर भएको हुन्छ ।

उनले भने, ‘यहि अवस्थामा महिला वा अन्य घरपरिवार पोषणयूक्त खानपिनका साथ सफा ठाउँ (घरभित्र) बस्नु पर्ने हो । तर सुदुरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महिनावारी भएको अवस्थामा गोठमा बस्ने सामाजिक कु-सस्कारी चलनले महिलाको स्वास्थ्य चुनौतीपूर्ण रहेको छ ।’

कोशोरी तथा महिलाको स्वास्थ्यलाई मध्ये नजर गर्दै संचालनमा आएको गोठमुक्त अभियान पूर्णरुपले सफल भएमा छाउगोठमा रहँदा महिला वा किशोरीमाथि शोषण भएको र संक्रमणबाट ज्यान गुमाउन परेको घटना विरलै हुनेछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ