२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश‘प्रतिष्ठान र समग्र कर्णाली बुझेको उपकुलपति चाहिन्छ’

‘प्रतिष्ठान र समग्र कर्णाली बुझेको उपकुलपति चाहिन्छ’


जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको लागि समग्र कर्णालीलाई बुझेको योग्य व्यक्ति हुनुपर्ने कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठका बताउछन । उनका अनुसार कर्णालीमा डाक्टर नपाइने ठाउँमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएर सेवा प्रवाह भइरहेको छ ।

निकै चुनौतीका बाबजुद कर्णालीको जुम्लामा ठुलो स्वास्थ्य संस्था स्थापना गरिएको र एमबीबीएस अध्ययनको पनि तयारी भइरहेको उनले बताए । यी सबै चुनौतीको सामाना गर्न सक्ने तेरो मेरो भन्दा पनि दक्ष कर्मठ व्यक्ति छनौट गरी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त हुनुपर्ने उनको बुझाइ छ ।

‘कर्णालीको भुगोल बुझेको हुनुपर्दछ । जागरुक व्यक्ति, जसले अन्य प्रतिष्ठानको दाँजोभन्दा माथि उठाउन सक्ने व्यक्तिलाई नियूक्त गर्नुपर्दछ ।’, सांसद श्रेष्ठ भन्छन् ,’प्रतिष्ठानमा पहिला नियुक्त भएका व्यक्तिहरुले कामै गर्न सकेनन् त भन्न सकिदैन तर अपेक्षित काम भने हुन नसकेको यथार्थता हो ।’

प्रतिष्ठानका सिनेटर तथा पूर्व राज्यमन्त्री बलबहादुर महत प्रतिष्ठानलाई २/४ वर्ष जागिर खाने र पैसा कमाउने उपकुलपतिको खाँचो नभएको बताउँछन्। ‘ स्वास्थ्य क्षेत्रको दक्ष, कर्मठ र पवित्र मन भएको व्यक्ति आवश्यक रहेको छ ।’, उनी भन्छन्, ‘सिनियर जुनियर को कुरा होइन उपकुलपति नियुक्तिका मापदण्ड छन् । तिनै मापदण्डमा रहेर सरकारले उपकुलपति नियुक्ति गर्नुपर्छ ।’

अघिल्ला उपकुलपतिले प्रतिष्ठानका लागि काम गरौँभन्दा समेत नमानेको उनको आरोप छ । ‘अघिल्ला उपकुलपतिले काठमाडौँमै सम्पर्क कार्यालय राखेर काठमाडौँ बसे ।’,पूर्वराज्य मन्त्री महत भन्छन्, ‘काठमाडौँमा बसेर कर्णालीको काम हुँदैन ।’ प्रतिष्ठानको मुख्य कार्यालय त जुम्ला नै हो भनेर विरोध भएपनि सम्र्पक कार्यालय नहटाई अघिल्ला कुलपति राजेन्द्र राज वाग्लेले कार्याकाल सम्पन्न भएको उनको भनाइ छ ।

‘स्वास्थ्य क्षेत्रको विज्ञ कर्णाली प्रतिष्ठानलाई अन्य प्रतिष्ठानको दाजोभन्दा माथि पु¥याउन सक्ने व्यक्तिको आवश्यक छ र हाम्रो माग पनि यही हो ।’ उनले भने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण संगठनका अध्यक्ष रामाकान्त उपाध्यायका पनि अवको उपकुलपती प्रतिष्ठानमा रहेर काम गरेको र कर्णालीलाई बुझेको व्यक्ति हुनुपर्नेमा जोड दिन्छन् ।

‘प्रतिष्ठान भित्रकै स्थानीय व्यक्ति नै हुनु पर्दछ । पहिला सिनियर व्यक्तिलाई नै प्रतिष्ठानमा उपकुलपति पदमा नियूक्त भएपनि ४ वर्ष कार्यकालमा ४ महिना पनि कार्यक्षेत्रमा बसेर काम गरेनन् । उनले भने । करोडौँ पैसा कमाउने सपना बोकेर आउने तर प्रतिष्ठानको लक्ष्य अनुसार काम गरेको नपाइएको उनको गुनासो छ ।

पूर्व उपकुलपतिको पनि आवेदन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेको ४ वर्ष कार्यकाल समाप्तपछि अहिले उपकुलपति पद रिक्त छ । प्रतिष्ठानका उपकुलपतिका लागि सरकारले आवेदन माग गरेको थियो । सरकारले गठन गरेको उपकुलपति सिफारिस समितिले गएको आइतबारसम्म आवेदन दिन समय तोकेको थियो ।

तोकिएको समयभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि कार्यबाहक उपकुलपति डा. मंगल रावल, निवर्तमान उपकुलपति प्रा.डा. राजेन्द्र वाग्ले, डिन डा. रेशम राना, रेक्टर निरेश थापा, डा. सुर्यमान लिम्बु, प्रा.डा. तरुण पौडेल, डा. राजीव साह, प्रा. डा रामप्रसाद उप्रेती, प्रा.डा. गेहनाथ बराललगायतले २१ जनाले आवेदन दिएका छन् ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्यबाट तीन जनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्नेछ । उक्त सिफारिस समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र राष्ट्रिय योजना आयोगकी शिक्षा, स्वास्थ्य हेर्ने उषा झा सदस्य छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ