२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमौसमी रुघाखोकीले भेरीखोला प्रभावित, डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण

मौसमी रुघाखोकीले भेरीखोला प्रभावित, डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण


जुम्ला – मौसमी रुघाखोकी फैलिदा जुम्लाको तातोपानी गाउँपालिकाको मुकामदेखि दक्षिणी भेगमा पर्ने भेरीखोलाको ताम्ती गाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिदा स्थानीय बालबालिका बढी प्रभावित भएका हुन् ।

तातोपानी गाउँपालिकाको भेरीखोला ७ र ८ नम्बर वडा पर्दछ । ७ नम्बर वडाको ताम्तीस्थित जनजागृति माध्यमिक विद्यालयका २६ जना विद्यार्थी विरामी परेका छन् । विद्यालयमा बार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थी एकाएक विरामी पर्न थालेको विद्यालय अहिले बन्द गरिएको छ ।

उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्ति प्रधानाध्यापक जनक रावतले बताए । उनले भने, ‘अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ ।’ गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावत विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको बताउँछन् । बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रासिद अवस्थामा छ ।

समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले जानकारी दिए । ‘गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्र रुपमा थला पार्न थालेको छ ।’ उनले भने, ‘तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ ।’

लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन् । अहिले छिमेकी गाउँमा समेत बिरामी पर्ने काम सुरु हुन थालेको छ । तातोपानी ७ का वडाध्यक्षको सिंगो परिवार अज्ञात रोगबाट संक्रमित भएका छन् । कोरोनाको डरले आतंकित स्थानीयहरु अज्ञात रोगले थप सशंकित भएका छन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधी र स्वास्थ्यकर्मी परिचालनको व्यवस्थापन गरिएको उनले बताए ।

यता, जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि १ वैशाखमा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको हो । उनले भने गाउँमा डेढ सय बालबालिकाको स्वास्थ्य परिक्षण गरौँ । मौसमी रुघाखोकी फैलिदा बालबालिका विरामी परेको भन्ने बुझिएको छ ।

आवश्यक औषधी उपलब्ध गराएको उनले बताए । अहिले मौसम सुख्खा भएकोले यस्ता किसिमका मौसमी रुघाखोकी फैलिने सम्भावना धेरै भएकाले स्थानीय बासीलाई सचेतीकरण पनि गरिएको उनको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ