२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिसोमा कोभिड-१९ का बिरामीको त्रिपालमुनि बास

चिसोमा कोभिड-१९ का बिरामीको त्रिपालमुनि बास


जुम्ला-सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँका नेकपा (विप्लव) समूहका नेता चन्द्रवीर तिरुवा कोभिड संक्रमित बिरामी हुन् । उनलाई लक्षणसहितको कोरोना संक्रमण देखिएको ८/९ दिन जति भयो ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो । ज्वरो आउने, खोकी लाग्ने जीउ दुख्नेजस्ता संक्रमणका लक्षण देखिएका छन् ।

बैशाखको तेस्रो साता भएपनि यतिबेला जुम्लामा वर्षात भइरहेको छ । निरन्तरको वर्षाले चिसो बढिरहेको छ । वर्षाका कारण चिसो मौसममा कोरोना संक्रमित त्रिपालमुनिको बास भइरहेको छ ।

होम आइसोलसनका नाममा त्रिपालमुनिको बास भएको हो । यहाँका थोरै कोठा, साना कोठा भएका घर छन् । होम आइसोलेसन बनाउनेजस्ता घर छैनन् । घरभित्र बस्दा अरु घरपरिवारलाई संक्रमण सर्ने डरले घर नजिकै जंगलको छेउमा त्रिपाल टाँगेर संक्रमितहरु बसिरहेका छन् ।

चन्द्रवीर भन्छन्, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा लक्षणसहितको कोरोना संक्रमण देखिएकोले अस्पतालकै आइसोलेनमा चिकित्सकको रेखदेखमा बस्ने इच्छा हुदा पनि बस्ने वातावरण भएन ।’

अहिले अस्पताल र चिकित्सकभन्दा कयौं टाढा जंगलको छेउमा त्रिपालमुनि उनको बास भइरहेको छ । स्वास्थ्यमा केही समस्या आइहाले पनि तत्काल उद्धार गर्न सकिने अवस्था छैन । उनले भने, ‘अहिले भगवान भरोसामा बचेको छु । मुखमा लगाउन माक्स पनि पाइएको छैन । प्रयोग गरेर फाल्ने सर्जिकल माक्स पुनः धोएर प्रयोग गर्नुपर्ने बाध्यता छ ।’

राज्यले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अर्बौ बजेट खर्च गरेको छ । तर, जनताले माक्ससमेत नपाएको उनले तर्क गरे । सुरु–सुरुमा स्वास्थ्य अवस्था निकै गाह्रो रहेको बताउँदै उनले अहिल केही सुधार हुँदै गएको बताए ।

जुम्लामा अहिले कोरोना संक्रमितको संख्या ६६ जना पुगेको छ । जसमध्ये सिंजा गाउँपालिका भित्रका तीन जनामा संक्रमण देखिएको हो । सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक नरबहादुर रोकायाका अनुसार लक्षणसहितका कोभिडका बिरामीलाई अस्पतालको फिभर वेडमा राख्नुपर्ने हो । ‘तर, घरमै पठाउने कुरा भयो,’ उनले भने, ‘घरमा कोभिडका बिरामीलाई बस्ने सहज वातावरण हुँदैन । स्थानीयस्तरमा सामान्य स्वास्थ्य परामर्श दिने बाहेक अरु स्वास्थ्यका विकल्प छैनन् ।’

स्थानीयस्तरका स्वास्थ्यकर्मी पनि जोखिममा छन् । दोस्रो लहरको संक्रमण संक्रमण फैलिएपछि स्वास्थ्य सामग्रीको अभाव रहेको उनले बताए । संघ, प्रदेश र स्थानीय सरकार कुनैबाट पनि माक्स, स्यानिटाइजर, पीपीईजस्ता स्वास्थ्य सामग्री उपलब्ध भएका छैनन् । स्वास्थ्यकर्मी आफैले किनेर स्वास्थ्य सामग्री प्रयोग गरिरहेका छन् ।

सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल भने आफूहरु संक्रमितको उपचार व्यवस्थापनमा संवेदनशील भएर लागिरहेको बताए । ‘अझै पनि यहाँका संक्रमितको उपचार व्यवस्थापनमा हामी संवेदनशील छौं । अक्सिजन सिलिण्डर खरिद प्रक्रियामा छौँ ।’

कोरोना संक्रमतिको स्वास्थ्यमा समस्या आएको खण्डमा तुरुन्त उद्धार गरी सुविधायुक्त अस्पतालमा पुर्याउने तयारीमा जुटेको उनले बताए । ‘स्थानीय तहमै अस्थायी कोभिड अस्पताल पनि बनाएका छौं,’ उनले भने, ‘अक्सिजन र चिकित्सक नभएकाले समस्यामा परेका छौं । पटक–पटक विज्ञापन गर्दा पनि चिकित्सक पाउन सकेनौं ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहका अनुसार राज्यको प्रोटोकल अनुसार अक्सिजन, भेन्टिलेर अवश्यक पर्ने कोभिड बिरामीलाई मात्रै अस्पतालमा राख्ने व्यवस्था रहेको छ । उनले भने, ‘अन्य सामान्य कोभिड बिरामीलाई स्थानीयस्तरकै आइसोलेसनमा राख्नुपर्ने व्यवस्था रहेको छ । देशभर कोरोना संक्रमण चुलिदै गएकोले यहाँका चिकित्सक अन्यत्र जिल्लामा पठाउनु परेको हो । बाहिर जिल्लाका बिरामीको उपचार गर्नु परेको हो ।’

राष्ट्रिय मानवअधिकार आयोग जुम्ला र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको एक संयूक्त टोलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अवस्थाका विषयमा स्थलगत अध्ययन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा जिम्मेवार प्राप्त सरोकारवाला निकायसँग प्रत्यक्ष भेटघाट र अवस्था अवलोकन गरी स्थलगत अनुगमन गरेको हो । यस्तै, भौतिक दुरी कायम गरी सिंजामा त्रिपालमुनि बसेका कोभिड संक्रमितको स्थलगत अनुगमन समेत गरेको छ ।

पत्रकार महासंघ शाखा जुम्लाका नेत्रबहादुर शाहीले कोरोना संक्रमण तथा नियन्त्रणमा राज्यको तयारी नपुगेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ