२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअक्सिजन प्लान्ट व्यवस्थापन गर्न सामाजिक विकास समितिको निर्देशन

अक्सिजन प्लान्ट व्यवस्थापन गर्न सामाजिक विकास समितिको निर्देशन


जुम्ला –  कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले अक्सिन अभाव हुन नदिन प्रदेश सरकरलाई निर्देशन दिएको छ । प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीको अध्यक्षतामा शनिबार बसेको बैठकले तत्काल प्रदेश अस्पतालमा एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो ।

प्रदेश अस्पताल सुर्खेतले बैशाख ३१ गते कोभिड–१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीहरुलाई अक्सिजन अभाव कै कारण भर्ना लिन नसकिने भनि गरेको सूचनाबाट ध्यानाकर्षण भई समितिको तत्काल बैठक बसेर अक्सिजन अभाव पूर्ति गर्न सरकारलाई निर्देशन दिईएको अध्यक्ष ओलीले बताइन् ।

‘हामीले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायतको व्यवस्थापन गर्नसमेत निर्देशन दिएका छौं,’ उनले भनिन्, ‘विशेषगरी प्रदेश अस्पताल सुर्खेतमा दैनिक एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्टको तत्काल स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन गरेका छौं ।’ उनले कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर लाग्न सरकारलाई निर्देशन दिईएको अवगत गराइन् ।

यता, सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले कर्णालीका नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र सबै अस्पतालहरुमा नियमित विद्युत आपूर्तिका निम्ति तत्काल पहल गर्न सरकारलाई सुझाएको जनाउँदै समितिको बैठकबाट प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीव्रता दिने निर्णय गरिएको बताए ।

तीनै तहका सरकारले कोभिड–१९ को संक्रमणबाट जोखिन आम जनसमुदायमा दिएका निर्देशनहरू पालना गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन तथा छिमेकी देश, अन्य मुलुकलगायत गैर सरकारी संघसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोरोनासँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा साहयता गर्न बैठकले अपिल गर्ने निर्णय गरेको सचिव पौडेलले जनाए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्टबाट बेडमै अक्सिजन दिने व्यवस्था गरिएपनि कोरोना संक्रमितको बढ्दो चापले अभाव पूर्ति हुन सकेको छैन । सो अभाव पूर्तिका लागि दैनिक सयौं सिलिण्डर आयात गर्नुपर्ने भएकोले प्लान्टको क्षमता बढाएर अक्सिजन आपूर्ति हुने व्यवस्था मिलाउन सामाजिक विकास समितिले सरकारलाई यस्तो निर्देशन दिने निर्णय गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ