२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनायिका मनिषा कोइरालाद्वारा जुम्ला प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग

नायिका मनिषा कोइरालाद्वारा जुम्ला प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग


जुम्ला – बलिउड नायिका मनिषा कोइराला फाउण्डेसनले कर्णाली हिमाली जिल्ला जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोइरालाले आइतबार जुम्ला अस्पताललाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धि  स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलको समन्वयमा जुम्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग भएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनले भने, ‘काठमाडौँबाट स्वास्थ्य सामग्री जुम्लासम्म ल्याउनका लागि नेपाली सेनाले सहयोग गरेको हो ।’

पीपीई ४१० सेट, ग्लोब्स ३ सय पीस, केएन नाइन्टीफाइभ माक्स ३ सय पीस, ट्याप्लट डेक्सोना १० हजार ट्याप्लेट, पुन: प्रयोग गर्न मिल्ने गाउन ३० थान, डिस्पोजल गाउन ३ सय ६० थान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई प्राप्त भएको जनाएको छ ।

प्रतिष्ठान जुम्लाले कर्णाली प्रदेशका विभिन्न जिल्लामा कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न चिकित्सक परिचालन गरेको छ । प्रतिष्ठानले जिल्ला-जिल्लामा चिकित्सक परिचालन गरी फरक विधिबाट रोकथाम तथा नियन्त्रणमा जुटेको हो ।

‘यसलाई कर्णाली मोडेलको रुपमा काम गर्ने जर्मको गरेका हौँँ,’ प्रतिष्ठानका प्रवक्ता भट्टराई, ‘एउटै अस्पतालमा विरामी थुपार्नुभन्दा जिल्लामै चिकित्सक खटाएर सम्बन्धित जिल्लामै बिरामीको उपचार गर्नुपर्दछ । यो मोडेल देशभर लागु गर्नुपर्दछ ।’ राज्यले पनि सिकाइको रुपमा अगाडी बनाउनुपर्नेमा उनले जोड दिए ।

कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन् । कालिकोटमा सहायक प्राध्यापक डा. रिबिन खापुङ र डा. सुबि बस्न्यात, हुम्लामा सहायक प्राध्यापक डा. माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा. अभिषेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन् ।

यसैगरी पश्चिम रुकुममा सह-प्राध्यापक डा. अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएका छन् । बाँकेमा सह- प्राध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ ।

प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक–एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ । पहिलो लहरको कोभिड-१९ नियन्त्रण र उपचारमा राम्रो भूमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफूलाई अब्बल साबित गर्न कसरत गरिरहेको छ ।

प्रवक्ता डा. रमेश भट्टराईले कोभिड-१९ नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नराख्ने बताए । उनले भने, ‘पहिले सामान्य उपचारका लागि भौतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा राम्रो चिकित्सक र उपचार सेवा दिएर प्रसंसा बटुलिरहेको छ । यो भन्दा कर्णालीको लागि खुसीको कुरा के हुनसक्छ ।’

प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आईसियू, २४ बेडको एचडियु, तथा ८४ शैय्या गरि १ सय २० बेड उपचारका लागि व्यवस्थापन गरेको उनले बताए । कर्णाली कोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न चाहन्छ, ‘उनले भने, ‘त्यसका लागि कर्णालीबासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक छ ।’

प्रवक्ता डा. भट्टराईले हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको बताए । प्रतिष्ठानमा संक्रमित नमुनाको पिसिआर परीक्षणलाई निरन्तरता दिदै आएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ