२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड नियन्त्रणमा तातोपानी गाउँपालिकाको सक्रियता

कोभिड नियन्त्रणमा तातोपानी गाउँपालिकाको सक्रियता


जुम्ला – कोभिड-१९ संक्रमितको व्यवस्थापनमा जुम्लाको गाउँपालिका अब्बल देखिएको छ । जिल्लाका एक नगरपालिका सहित सात गाउँपालिका मध्ये तातोपानी संक्रमित व्यवस्थापनमा सक्रियता देखिएको हो ।

चारजना लक्षण नदेखिएका संक्रमित बाहेक सबै संक्रमित संस्थागत आइसोलेसनमा राखेर व्यवस्थापन गरेको हो । ‘संक्रमित आइसोलेसनमा आउन मानिरहेका हुदैनन्, ‘गाउँपालिका उपाध्यक्ष गंगादेबी उपाध्यायले भनिन्, ‘घरमै पुगेर कोरोना संक्रमणले पार्ने प्रभावितका बिषयमा सम्झाइ बुझाइ गरेर आइसोेलेसनमा ल्याउने गरेका छौँ ।’

उनले संक्रमितको घरदैलोमा पुगेर संक्रमितलाई संस्थागत आइसोलेसनमा ल्याउने गरेको बताइन् । कोरोना सामान्य रुघाखोकी हो । घरमै बसेर निको भइन्छ भन्ने मानसिकता यहाँका नागरिकमा हाबी छ । उनले भनिन्, ‘त्यो मानसिकता चिर्न चुनौती छ । गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी परिचालन भएर कोरोनाबाट हुने हानीका बिषयमा सचेत गरिराखेका छौँ ।’

तातोपानी गाउँपालिकामा अहिले ४७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् । उनीहरुको गास, बास गाँउपालिकाले व्यवस्थापन गरेको छ । पटक-पटक स्वास्थ्यकर्मीले उनीहरुको निगरानी राख्ने गरेका छन् । चिकित्सक आइसोलेसनमै पुगेर अक्सिजनको मात्र नाँपजाँच गर्ने गरिरहेका छन् । स्वास्थ्यकर्मीले लक्षण अनुसारको औषधि दिने गरेका छन् ।

पहिले गाउँपालिकाले २० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल बनायो । अहिले ४७ जना आइसोलेसनमा छन् । संक्रमित बढेको खण्डमा आइसोलेसन बेड बढाउन सकिने उपाध्यक्ष उपाध्यायले बताइन् ।

कोभिड अस्पतालमा १५ सिलिण्डर अक्सिजन राखिएको छ । यस महामारीमा आउन सक्ने सबै समस्यासंग जुध्न गाउँपालिकाले तयारी थालेको छ, ‘स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाइले भने, ‘अहिलेसम्म संक्रमितको व्यवस्थापन र रेखदेख राम्रोसंग भइराखेको छ । यहाँका नागरिकलाई कोरोनाबाट बचाउन हदैसम्मको प्रयास हुनेछ ।’

उनका अनुसार १९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । हरेक वडामा एक जना सुचना सम्प्रेषण गर्ने व्यक्ति नियुक्त गरिएको छ । गाउँको अवस्थाको बारेमा नियमित रिर्पोटिङ्ग हुन्छ । त्यसैका आधारमा कन्टयाक्ट ट्रेसिङ र टेस्टिङ गरिन्छ ।

आइसोलेसनमा बसेका संक्रमित गाउँपालिकाले गरेको व्यवस्थापन प्रति निकै खुसि छन् । उनीहरुले नियमित रुपमा भेटघाट, छलफल गर्ने, पोषिलो खानेकुरा दिने, चेकजाँच गर्ने देखि हौसला दिने सम्मको काम गरिरहेको भन्दै आइसोलेसनमा संक्रमितलाई गर्ने व्यवहार प्रति सन्तुष्ट भएको बताएका छन् ।

गाउँपालिकामा उपाध्यक्ष उपाध्यायको संयोजकत्वमा जनचेतना तथा प्रचारप्रसार समिति छ । त्यो समितिले कोरोनाका लक्षण, रोकथाम तथा नियन्त्रणका बिषयमा सचेतना प्रदान गर्दै आइरहेको छ । शंकास्पद लागेको ठाउँमा तत्काल स्वास्थ्यकर्मी पठाएर चेकजाँच गर्ने गरिएको स्वास्थ्य संयोजक चौलागाईले बताए ।’

गाउँपालिकामा ८ वडा छन् । सबै वडामा स्वास्थ्यकर्मी पुगेका छन् । उपाध्यक्ष उपाध्यायले कोरोना कहरमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधा थपिएको बताइन् । कोरोना सबैको सामुहिक समस्या हो । सामुहिक रुपमा प्रतिरोधको आवश्यकता छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले भने, ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीयतहले गर्नु पर्ने सबै पहल गरिएको छ ।’

गाउँपालिकाले १ र ६ नम्बर वडा सील गरेको छ । कोरोना परिक्षणका क्रममा संक्रमित बढ्न थालेपछि गाँउ नै सील गर्नु परेको उनले बताए ।
तातोपानी गाउँपालिका कोरोना संक्रमणले बढी प्रभावित भएपछि बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा स्वास्थ्य सामग्री लिएर गाउँमा बनेको आइसोलेसन सेन्टर र कोभिड अस्पतालमा पुगेका थिए ।

उनले तातोपानी गाउँपालिकामा आइसोलेसन सेन्टर, आइसोलेसनमा बसेका संक्रमित र कोभिड अस्पतालको अवस्था बुझेर गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी थापाले पिपिइ र गमबुड २० सेट, सेनिटाइजर ३० बोतल, सेनिटाइजर ५ गेलेन, मास्क एन नाइन्टीफाइभ ५० पिस, सर्जिकल मास्क ५० बक्स, एलआर थर्ममिटर ५ पिस, फेस शिल्ड ८० पिस, लुज ग्लोब्स ५ पाकेट, सर्जिकल ग्लोब्स ५ पाकेट, सोडिएम हाइडोक्लोराइड सोलुसन ३ गेलेन, सेनेटरी प्याड १० पिस र अक्सिमिटर ४ पिस तातोपानी गाउँपालिकालाई बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘यो कठिन अवस्थामा संक्रमिलाई हौसला र भरोसा आवश्यक छ । त्यही भरोसा दिन आइसोलेसन सेन्टरमा पुगेको छु ।’ उनले आइसोलेसनमा रहेका संक्रमितलाई व्यवस्थापन र स्वास्थ्य निगरानीको बारेमा बुझेका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ