२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतातोपानी गाउँपालिकाका २३ जना एकैपटक संक्रमणमुक्त

तातोपानी गाउँपालिकाका २३ जना एकैपटक संक्रमणमुक्त


जुम्ला -कोभिड-१९ संक्रमण निकै प्रभावित भएको तातोपानी गाउँपालिकामा एकैपटक २३ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । सोही गाउँपालिका – ६ रावतवाडाका २१ जना र वडा नम्बर ७ सर्मीका २ जना गरी २३ जना संक्रमति मुक्त भएका हुन् ।

तातोनापानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाई एकैपटक २३ जना निको भएर घर फर्किदा निकै खुसीभएको बताए । उनले भने, ‘धमाधम गाउँमा संक्रमित भेटिन थालेपछि निकै चिन्तित थियौँ । अब निको भएर घर फर्कने लहर शुरु भएकोले उत्साहित छौँ ।’

कोभिड जितेर घर फर्किने संक्रमितको गाउँपालिकाले भव्य रुपमा विदाइ गरेको थियो । संक्रमण देखिदा आइसोलेसनमा आउन मानिरहेका थिएनन । तर निको भएर घर फर्कदा गाउँपालिकाले गरेको व्यवस्थापनको प्रसंशा भइरहेको थियो । आइसोलेसनमा बस्दा आफ्ना पनि सुरक्षा हुने र आफन्तको पनि सुरक्षा हुने भन्दै आइसोलेसन बनाउने काम निकै प्रभावकारी भएको अनुभुति संक्रमितले सुनाइरहेका थिए ।

तातोपानी गाउँपालिकाले ४७ जना संक्रमितलाई आइसोलेसनमा राखेको थियो । गास र बासको व्यवस्था गर्नुका साथै निरन्तर स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानीमा राखेको थियो । स्वास्थ्य संयोजक चौलागाइले भने,‘कोरोना संक्रमण एकाएक फैलँदा गाउँमा त्रास थियो । अहिले निको भएर घर फर्कदा आत्मबल मिलेको छ । आत्म विश्वास र सावधानीले कोरोना सहजै जितिन्छ भन्ने सन्देश गाउँबस्तीमा फैलिइएको छ । ’

आइसोलेसनमा हरेक दिन जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गर्ने, भरोसा दिने र व्यवस्थापनमा देखिएको अभाव परिपुर्ति गर्ने गरिएको थियो । ठुलो संख्यामा संक्रमित आइसोलेसनमा राखेर औषधि उपचार, निगरानी राख्ने तातोपानी पहिलो गाउँपालिका हो । निको भएर घर फर्कने संक्रमितलाई गाउँपालिकाले होमआइसोलेसनमा बसेर उच्च सावधानी अपनाउन सुझाव दिएको थियो ।

घरमा गएर मास्क लगाउने, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले नियमित हातधुने र शंकास्पद लक्षण देखिने वित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा आइहाल्न आग्रह गरेको तातोपानी गाउँपालिकाले जनाएको छ ।

गाउँमा कोरोना लक्षणका बिरामी देखिन वित्तिकै स्वास्थ्यकर्मी लिएर वडाध्यक्ष विशाल खड्का गाउँमा पुगेका थिए । उनले गाउँपालिका स्वास्थ्य शाखा समन्वय गरेर पिसिआर परिक्षणका लागि पहल गरे । खड्काले भने, ‘गाउँमा कोभिड फैलँदा स्वभाविक रुपमा त्रास त थियो नै तर कोरोना परिक्षण गरेर संक्रमितको स्वास्थ्य सुरक्षाका लागि निकै चासो थियो । समयमै पहल गर्दा कोरोनाबाट क्षति बेहोर्नु परेन । वडापालिका यसैमा सन्तुष्टि छ । ’

तातोपानी गाउँपालिकाले गाउँपालिकाभित्रका ८ वडाका हरेक बस्तीमा कोभिड सम्पर्क व्यक्ति राखेको छ । दैनिक दिन सबै वडाका सबै गाउँको अवस्था बारेमा जानकारी लिने गरिएको छ । अहिले गाउँपालिकाका ठुलो संख्यामा संक्रमित आइसोलेसनमा छन । गाउँपालिकाले ट्रेसिङ र टेस्टिङलाई संगसंगै अघि बढाएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ