२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ का बीच नियमित खोप कार्यक्रम जारी

कोभिड–१९ का बीच नियमित खोप कार्यक्रम जारी


वीरेन्द्रनगर–कोभिड–१९ महामारीका कारण देश नै आक्रान्त बनिरहेका बेला प्रायः सबै क्षेत्र ठप्प छन् । सरकारले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै विस्तारै निषेधाज्ञालाई खुकुलो बनाउन थालेपनि सबै अझै पहिलेकै अवस्थामा फर्कन सम्भव छैन ।

तर, कोभिड–१९ ले अन्य क्षेत्र प्रभावित बनेपनि पाँच वर्षमुनिका बालबालिकालाई लगाउने नियमित खोप कार्यक्रमलाई भने असर पारेको छैन ।

एक अनुगमनका आधारमा सुर्खेतका विभिन्न स्थानीय तहमा कोभिड–१९ का बीच नियमित खोप कार्यक्रम जारी रहेको पाइएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै नियमित खोप कार्यक्रमलाई जारी राख्न स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सफल भएका छन् ।

आइतबार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, युनिसेफ र डब्लुएचओद्वारा संयुक्त रुपमा सुर्खेतको लेकवेसी, गुर्भाकोट र भेरीगंगा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्था र खोप क्लिनिकमा गरिएको अनुगमनका क्रममा खोप कार्यक्रम प्रभावित नबनेको पाइएको हो ।

कोभिड-१९ ले खोप कार्यक्रम प्रभावित भएमा खोप नपाएकै कारण भविष्यमा बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने भन्दै कुनै पनि बालबालिका नियमित खोपबाट नछुटुन भन्ने उद्धेश्यले अनुगमन गरिएको थियो ।

स्थानीय तहका विभिन्न स्वास्थ्य संस्था तथा खोप क्लिनिकहरुमा गरिएको अध्ययन, अनुगमनपछि स्थानीय, प्रदेश तथा संघीय सरकार र विभिन्न संघ संस्थाहरुलाई आगामी कार्यक्रम गर्न सहज हुने स्वाथ्य सेवा निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नोदनारायण चौधरीले बताए ।

उनका अनुसार अनुगमनका क्रममा खोप लगाउन आउने महिलाहरुले जनस्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ । खोप लगाउन आउँदा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्दैनन् । तर, कोभिडका कारण खोप कार्यक्रम प्रभावित भएको छैन । ‘व्यक्तिको व्यवहार परिर्वतन गर्न गाह्रो छ । त्यसैले हाम्रो भुमिका भनेको सन्देश प्रवाह गर्ने नै हो,’ उनले भने, ‘यस्तोबेला संचार माध्ययमले पनि व्यवहार परिवर्तन ल्याउने खालका सामाग्री प्रचार—प्रसारमा जोड दिनुपर्छ ।’

बालबालिकालाई खोप लगाउन आउने महिलाहरुले मास्क दिदा पनि नलगाउने गरेको लेकवेसी-७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी धनराज आचार्यको भनाइ छ । स्थानीय तहका जनप्रतिसनिधिहरु समेत खोपका बारेमा राम्रोसँग जानकार भएकाले नियमित खोप कार्यक्रम संचालन गर्न सहज भएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ