२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई सम्मान

कोभिड फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई सम्मान


जुम्ला – तातोपानी गाउँपालिकामा कोभिड-१९को पहिलो र दोस्रो लहरको रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । जनप्रतिनिधि मौन रहेपछि गाउँपालिकाका कर्मचारीहरुले नै स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाई, एक जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई सम्मान गरेका हुन् ।

यस माहामारीमा दिनरात नभनी आफ्नो ज्यानको प्रवाह नगरी कोभिड रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई गाउँसभामा जनप्रतिनिधिले सम्मान गर्नु पर्ने हो । तर, जनप्रतिनिधि त्यस विषयमा अहिलेसम्म बेखर देखिएपछि कर्मचारीबीच छलफल गरेर स्वास्थ्यकर्मीलाई सम्मान कार्यक्रम राखेको तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले बताए ।

उनले भने, ‘हामीले पनि ठुलो सम्मान दिन सकेका छैनौँ । हौसला बढाउन, प्रोत्साहन गर्न स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईलाई टोपी र दोसल्ला ओड्याएर सम्मान गरिएको हो । भने, एकजना स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई दोसल्ला ओड्याएर सम्मान गरेका छौँ ।’

कोभिड रोकथामसँगै कार्यालयको कामकाजमा उत्कृष्ट कर्मचारीलाई छनौट गरी जनप्रनितिधिले, कार्यपालिकाबाट निर्णय गरेर सम्मान गर्नु पर्ने हो । हालसम्म जनप्रतिनिधिले चासो नदेखाएपछि कर्मचारीको सल्लाहमै सम्मान गरिएको लेखाअधिकृत बुढ्थापाको भनाई छ ।

कोभिड रोकथाम मात्र नभइ अन्य क्षेत्रमा पनि उल्लेखीय काम गर्ने कर्मचारीलाई सम्मान गर्ने संस्कारको विकास गर्नु राम्रो भएपनि त्यसको थालनी गर्न स्थानीयतहमा कन्जुसाई भइरहेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए । उनका अनुसार कुनै पनि क्षेत्रमा खटिने कर्मचारीलाई काममा निरन्तरता ल्याउन तथा उसलाई काम प्रति अपनत्व र जिम्मेवारीबोध गराउन पनि सम्मान प्रोत्साहन गर्न आबश्यक रहेको छ । तर, अहिलेसम्म तातोपानीमा यस्तो कार्य भने हुन सकेको छैन ।

तर, तातोपानीका कर्मचारीले कोभिड रोकथाम तथा तातोपानीले गरेका विभिन्न गतीविधिलाई प्रचारप्रसार गर्ने, गाउँपालिकाको विकास तथा समृद्धीमा सधै सच्चा पहरेदारको भुमिका निभाउने पत्रकारहरुलाई भने सम्मान गर्न सकेनन् । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य पुर्णप्रसाद चौलागाईले भने,’कोभिड रोकथाममा खटिने स्वास्थ्यकर्मीसँगै केहि पत्रकारलाई पनि सम्मान गर्दा थप हौसल मिल्थ्यो अरुलाई पनि सिकाई हुन्थ्यो तर, त्यसो हुन सकेन् ।  जनप्रतिनिधि मौन रहेको अबस्थामा कर्मचारीले कर्मचारीलाईनै सम्मान गर्नु एक चुनौती संगै संस्कारको विकास पनि हो ।’

सम्मान कार्यक्रममा उपस्थित गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले कोभिडमा खट्ने कर्मचारीलाई सम्मान गर्ने कुरामा अध्यक्ष र आफुबीच भएको तर कार्यपालिकामा निर्णय नभएको बताइन् । कर्मचारी आफैले सम्मान कार्यक्रम राख्नु सुखद पक्ष भएको भन्दै कार्यपालिकाले पनि उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने कुरामा जोड दिइन ।

सम्मानपछि बोल्दै तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईले आफुले आफ्नो कर्तव्य निभाएको तर जनप्रतिनिधिले नभइ कर्मचारीले आफुलाई गरेको सम्मानले थप उर्जा र जिम्मेवारी बढेको बताए । आगामी दिनमा तातोपानीको स्वास्थ्य क्षेत्र सुधारका लागि कहिले पछी नहट्ने र कर्मचारीले गरेको सम्मान र हौसला प्रति धन्यबाद दिए ।

तातोपानीका जनप्रतिनिधिले आफ्नो कार्यकालको ४ वर्ष बिताइरहँदा हालसम्म कर्मचारी सम्मान गर्ने संस्कारको विकास भने गर्न सकेका छैनन् । आफ्ना आपसी विवाद तथा गाउँठाउको विकासमा बेस्थ जनप्रतिनिधिहरुले स्थानीयका कामकाजलाई सहज बनाउने, दिनरात नभनि महामारीमा खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्छ भन्ने मानसिकताको विकास अझै नभएको पाइएको छ ।

काम गर्ने बित्तिकै सम्मान पाउनु पर्छ भन्ने मानसिकता कसैको हुँदैन सम्मान मागेर पाइने कुरा पनि हैन। तर, सिङ्गो पालिका संचालनको जिम्मा पाएका तातोपानीका ८ जना वडाध्यक्ष तथा अध्यक्ष उपाध्यक्षले अहिलेसम्म कुनै कर्मचारी लगायत अन्यलाई सम्मान गर्न सक्ने ठोस नीति तथा निर्णय गर्न नसक्नु दुखद पक्ष हो । अन्य स्थानीयतहले गर्ने सम्मान प्रोत्साहनका कार्यक्रमलाई तातोपानीले सिको गर्न जरुरी छ । जसले गर्दा सानो सम्मान प्रोत्साहने काम गर्ने जागर थपोस, कर्मचारीमा उर्जा आवस भन्ने नागरिकको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ