२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको सिंजाका तीनै पालिकामा एम्बुलेन्स सेवा

जुम्लाको सिंजाका तीनै पालिकामा एम्बुलेन्स सेवा


जुम्ला –  जुम्लाको सिंजा उपत्यकामा तीन वटा गाउँपालिका छन् । सिंजा उपत्यकालाई संघीय संरचना अनुसार तीन गाउँपालिकामा विभाजन गरिएको हो ।

हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विभाजित छन् । जुम्लाको सदरमुकाम खलंगादेखि पैदल यात्रा गर्दा एक दिनमा सिंजा उपत्यका पुगिन्छ । त्यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आउनु पर्ने बाध्यता भएपछि तीनै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् ।

त्यो सबै क्षेत्रमा मोटरबाटो पुगिसकेको छ । सिंजाको कनकासुन्दरी गाउँपालिकाले हालै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो भने हिमा र सिंजा गाउँपालिकाले यस अघिदेखि नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए । कनकासुन्दरी गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाका अनुसार राजश्व (कर) छुटसहित १० लाख ८१ हजार रुपियाँमा एम्बुलेन्स पालिकामा पुगेको हो ।

गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेका अनुसार अघिल्ला बर्षदेखि नै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन खोजे पनि लामो प्रयासपछि राजश्व छुटमा एम्बुलेन्स खरिद गरी नागरिकलाई सेवा दिएको हो । पालिकामा एम्बुलेन्स नहुदा खलंगाबाट एम्बुलेन्स मगाउनु पर्ने समस्या विरामीले भोग्दै आएका थिए । उनले भने यो वर्षदेखि त्यो समस्याबाट नागरिकले उन्मुक्ति पाएका छन् ।

आकस्मिक सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा एम्बुलेन्स गाउँपालिकामा पुगेको हो ।

राजश्व (कर) छुट गरेर १० लाख बजेटमा पालिकाले खरिद गरेको हो । यस्तै सिंजा गाउँपालिकाले पनि राजश्व (कर) छुट गरी १० लाखमा एम्बुलेन्स खरिद गरी सेवा दिदै आएको छ ।

यस्तै, खलंगादेखि टाढा रहेको पातारासी गाउँपालिकाले पनि एम्बुलेन्स सेवा दिदै आएको छ । यहाँका गुठीचौर, तातोपानी र तिला गाउँपालिका पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ