२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशराष्ट्रपति भण्डारीद्वारा जुम्लामा एमबीबीएस पढाइको शुभारम्भ

राष्ट्रपति भण्डारीद्वारा जुम्लामा एमबीबीएस पढाइको शुभारम्भ


जुम्ला-राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बहु-प्रतिक्षित शैक्षिक कार्यक्रम एमबीबीएस पढाइको औपचारिक शुभारम्भ गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारी जुम्ला पुगेर शैक्षिक भवनको शिलान्यास र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।

उनले एमबीबीएस, बीपीएच, बीएनएस, बीफर्मालगायतका शैक्षिक कार्यक्रमको ताम्रपत्रलाई अनावरण गरी शैक्षिक कार्यक्रमको उद्घाटन गरेको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । राष्ट्रपतिसँगै उद्घाटन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, कर्णाली प्रदेश प्रमुख तिलक परियार, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीलगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि २० सिट छुटाइएकोमा १९ जना भर्ना भएका छन् । बपी फर्ममा २० सिट निर्धारण भएकोमा ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएसतर्फ ८ जना र बीपीएचतर्फ ६ जना भर्ना भएका छन् ।

उच्च हिमाली क्षेत्रमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित गर्न एमबीबीएस उद्घाटनका लागि राष्ट्रपतिलाई बोलाइएको रजिष्ट्रार महतको भनाइ छ । उनले भने, ‘कर्णालीमा एमबीबीएस सञ्चालन हुनु देशकै गौरवको विषय हो। यसलाई सफल पार्न सबैको सकारात्मक सहयोग आवश्यक रहेको छ। विगतमा डाक्टर खोजी-खोजी उपचार गर्ने कर्णालीका नागरिकले अब सेता एप्रोनधारी डाक्टर रोजी-रोजी उपचार गर्नेछन्।’

राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको पनि आजै शिलान्यास गरेकी छन्।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ