२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका ३ हजार ७ सय बढी बालबालिकालाई लगाइयो मोडर्ना खोप

जुम्लाका ३ हजार ७ सय बढी बालबालिकालाई लगाइयो मोडर्ना खोप


जुम्ला—जुम्लाका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य लिइएको छ । शनिबारसम्म यहाँका ३ हजार ७ सय ५३ बालबालिकालाई खोप लगाइएको हो ।

जिल्लाको १ नगरपालिका र ७ वटा गाउँपालिकाभरका २० हजार बालकालिकालाई मोर्डना खोप लगाउन थालिएको हो । चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा ७ देखि ११ पुससम्म मोर्डना खोप लगाइदैंछ ।

१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्यांक संकलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, ‘हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा ११ पुसदेखि खोप लगाउने सुरु गएको छ ।’

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका ३ हजार ८ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ । ‘हालसम्म २ हजार २ सय ३२ जना बालबालिकालाई खोप लगाइ सकिएको छ,’ उनले भने । अझै खोप कार्यक्रम जारी छ ।

तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीका अनुसार विद्यार्थी भर्नाका आधारमा २ हजार ९ सय बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनि १ हजार ५ सय डोज खोप मात्रै प्राप्त भएको छ । प्राप्त खोपमध्ये ६ सय ११ जनालाई खोप लगाइएको छ भने बाँकी खोप लगाउने कार्य जारी नै छ । कम मात्रमा खोप प्राप्त भएकोले अझै बालबालिका खोप लगाउन छुट्ने देखिएको उनले बताए । ‘थप खोप माग गरेका छौँ,’ उनले भने, ‘अझै विद्यालय बाहिर रहेका घरमा बस्ने, गोठालो, होटल, ग्यारेजमा काम गर्ने बालबालिका खोप लगाउनबाट छुट्ने अवस्था देखिएको छ ।’

तातोपानी गाउँपालिकामा ५ सय ४१ जना, गुठीचौरमा ३ सय ६९ जनालाई खोप लगाएको छ । यस्तै, पातारासी गाउँपालिकामा १८ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।

कर्णालीका ९ जिल्लामै लगाइँदैं खोप

सुर्खेतबाहेक कर्णाली प्रदेशका ९ जिल्लाका बालबालिकालाई कोभिड—१९ विरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोडर्ना खोपको पहिलो मात्रा शनिबारदेखि १४ पुससम्म र दोस्रो मात्रा आगामी २ देखि १० माघसम्म लगाइने जानकारी दिए । ‘साविकका गाविसमा ९ वटा केन्द्र र हालका स्थानीय तहका प्रति वडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘स्वास्थ्य कर्मचारी, शिक्षक÷शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ । विद्यालय नजाने बालबालिकालाई पनि नजिकको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।’

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका १ लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ