२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य भएपछि खोप लगाउनेको भिड

सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य भएपछि खोप लगाउनेको भिड


जुम्ला – सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यको नीति लिएपछि कोभिड-१९ विरुद्धको खोप लगाउने नागरिकको भिड लाग्ने गरेको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखामा खोप लगाउनेको भिड लाग्ने गरेको हो ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महतका अनुसार २/३ दिनदेखि शाखामा कोभिड-१९   विरुद्धको खोप लगाउनेको भिड लाग्ने गरेको छ । चन्दननाथ नगरपालिकाभन्दा पनि बाहिर गाउँपालिकाका धेरै नागरिक खोप लगाउन आउने गरेको छन् ।

उनले भने, ‘नगरपालिकाको जनसंख्या २४ हजार जति छ । तर, यो शाखाले २२ हजार भन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ ।आइतबार ४२४ जनालाई भेरोसिल पहिलो डोज र ६४ जनालाई दोस्रो खोप लगाएको छ भने सोमबार (आज) ३३४ जनालाई भेरोसिल र २१ जना दोस्रो डोज कोभिसिल खोप लगाएको छ । अझै २/३ खोप लगाउने कार्य जारी रहने शाखाले जनाएको छ ।’

विश्वव्यापी रुपमा फैलिएको तेस्रो लहरको कारण संक्रमणबाट बच्न जिल्ला कोभिड – १९ संकट व्यवस्थापन समितिले अपिल गरेको छ । २७ पुसमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले अपिल गरेको हो । सार्वजनिक सेवा प्राप्त गर्नका लागि अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हुने पर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थिति हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाइले बताइन् ।

यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ । ७ माघदेखि लागु हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायत र बैंक तथा वित्तिय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । कोभिड विरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

संक्रमणको दोस्रो लहरमा २३ जनाको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ०७७ वैशाख २० गतेदेखि कोभिड परीक्षण ल्याव सञ्चालनमा आएको हो । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको छ । यसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो ।

दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो। भने, ३ हजार ८ सय २ जनाको एन्टीजोन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन्। पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ