२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रजनन क्षमता विकास नहुँदै सन्तान जन्माउँदा ज्यान गुमाउँदै कर्णालीका महिला

प्रजनन क्षमता विकास नहुँदै सन्तान जन्माउँदा ज्यान गुमाउँदै कर्णालीका महिला


जुम्ला – कर्णालीमा उमेर नपुग्दै सानै उमेरमा विवाह गर्ने चलन छ । यो उहिले देखिको चलन अहिले पनि जिवितै छ । सरकारको ‘विहेवारी २० वर्ष पारी’ भन्ने सन्देश प्रभावित हुँदै गएको छ । सानै उमेर विवाह गर्ने र प्रजनन् क्षमता विकास नहुँदै सन्तान जन्माउने गर्दा यहाँका महिलाले मृत्युवरण गर्नु परेको हो ।

अदानजुली गाउँपालिका – ५ हुम्लाकी ३३ वर्षीया गौगोरा छत्यालले माघ ३ गते दशौँ सन्तानको रुपमा छोरी जन्माइन् । दशौँ सन्तानको रुपमा छोरी जन्माएकै दिन उनले प्राणत्याग गरिन् । छोरा जन्माउने आशमा १० पटक गर्भधारण गरिन् । अर्काे कुरा ३३ वर्षको उमेरमा दशौँ सन्तान जन्माउदै गर्दा उनले कति उम्मेरमा विवाह गरेकी होलिन् । एउटा बच्चा जन्माएपछि अर्काे बच्चा जन्माउदै कम्तीमा पनि तीन वर्ष जन्मान्तर हुनुपर्ने हुन्छ । यसबाट सहिजै रुपमा के बुझ्न सकिन्छ भने कम उमेरमा विवाह हुनु, प्रजनन् क्षमता विकास नहुँदै सन्तान जन्माउनु र जन्मान्तर पनि नभएको बुझिन्छ ।

छत्यालले जन्मिएको नयाँ बच्चा छोरी भएको थाहा पाउने बित्तिक्कै सुत्केरी स्यार्ने महिला भएको स्थानमा बसेकी महिलालाई एकातिर आग्रह गरे लगतै बेहोस भइन् । पछि हेर्दा निजको मृत्यु भइसकेको थियो । यसअघि उनले नौवटा छोरीलाई जन्म दिइसकेकी थिइन् ।

यसअघि कुनै बिरामी नभएकी छत्यालले छोरा नजन्माएको भनेर मानसिक तनाव खेप्दै आएकी थिइन् । जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराका अनुसार उनको निधन हृदयघातको कारण हुनसक्ने देखिन्छ ।

उनले छोरा जन्मने आशा भएकै बेला छोरी जन्मिएको देखिए पनि सुत्केरीलाई मनमा तनाव उत्पन्न भएको र त्यो नै मृत्युको कारण हुनसक्ने बताइन् । उनले मुख्यगरी मानसिक तनाव नै मृत्युको कारण हुनसक्ने बताइन् ।

८६० किशोरी गर्भवती

जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जुम्लाका ८ वटै स्थानीयतहका ८ सय ६० जना २० वर्षमुनिका कोशोरी गर्भवती भएका हुन् । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ८ सय ५५ जना २० वर्षभुनिका गर्भवती भएका थिए।

शिक्षा, चेतना अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान छ । सोही कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित हुनु पर्नेमा बाध्यता छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात् आमा बन्नेको संख्या कुल ८ सय ६० जना रहेकामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी छन् ।

पातारासी गाउँपालिकामा १ सय ३४, कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठीचौरमा ९५, तिलामा १ सय ४० र हिमामा ७७ गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

गत वर्षमा १ सय ८० जनाले निकै कम तौल भएका बच्चा जन्माएका छन्। भने २० वर्षमाथिका ३ सय ७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन् । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आउनुमा बालविवाह मुख्य कारण रहेको प्रमुख सापकोटाले जानकारी दिए ।

गत आर्थिक वर्षमा ८१ प्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् । १ हजार ७ सय ५२ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । यीमध्ये ९९ प्रतिशत बालबालिकाले बिसिजी खोप लगाइसकेको स्वास्थ्य प्रमुख सापकोटाको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ