२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटका सिडिओ नै संक्रमित भएपछि सबै सेवा बन्द, सुर्खेत बाणिज्य बैंंकको सेवा पनि प्रभावित

कालिकोटका सिडिओ नै संक्रमित भएपछि सबै सेवा बन्द, सुर्खेत बाणिज्य बैंंकको सेवा पनि प्रभावित


जुम्ला—जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारीलगायतका कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयका प्रमुखसहित अन्य कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि बुधबारदेखि एक हप्ताका लागि कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलगायतका कर्मचारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लाका धेरै कार्यक्रममा सहभागी हुँदा आफूलाई स्वास्थ्यमा असहज भएर टन्सिल भएपछि कोभिड परीक्षण गराउँदा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । कार्यालयका अन्य कर्मचारीहरूमा पनि कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयबाट प्रवाह हुने सेवा एक हप्ताका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

कालिकोटमा संक्रमण बढ्दो

कालिकोट जिल्लामा कोभिड–१९ को संक्रमणदर बढ्दो क्रममा रहेको छ । राजनीतिक दलका भेला–सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो । कोभिड–१९ को संक्रमण देखिएको सबैजना राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत गौराकुमारी घर्तीमगरका अनुसार तेस्रो लहरको कोरोनाबाट कालिकोटमा ७१ जना संक्रमित भएका छन् ।

जिल्लामा कोभिड–१९ संक्रमण तीव्र रूपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए । उनले भने, ‘विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहरले भयावह रूप लिएको छ ।’ कोभिड–१९ का संक्रमितहरू विभिन्न होम आइसोलेसनमा रहेको निमित्त प्रमुख महतले जानकारी दिए ।

जिल्लामा हालसम्म कोभिड–१९ विरुद्ध पहिलो मात्राको खोप लगाउनेको संख्या ८१ हजार एक सय ८१ जना रहेको र ४६ हजार तीन सय १३ जनाले दोस्रो डोज लगाएका जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

हालसम्म कालिकोटमा कुल जनसंख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ वर्षमाथिको लक्षित जनसंख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले दोस्रो डोज लगाएको स्वास्थ्य कार्यलय कालिकोटले जनाएको छ ।

कर्मचारी संक्रमति भएपछि बैंकिङ सेवा प्रभावित

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । आइतबार बैंकका कर्मचारीमा कोभिड–१९ पुष्टि भएकाले सोमबारदेखि बैंकिङ सेवा अवरुद्ध भएको हो । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोभिड पुष्टि भएको बैंकले जनाएको छ ।

१० जना कर्मचारीमध्ये एकजनामा गम्भीर लक्षण देखिएको र बाँकी नौजना कर्मचारी होम आइसोलेसनमा रहेको बैंकका प्रमुख लीलाराम ढुंगानाले बताए । ‘एकजना सुरक्षार्थ खटिने सुरक्षागार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ,’ उनले भने, ‘चार दिनका लागि बैंकिङ सेवा अवरुद्ध हुन सक्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ