२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला पनि कोभिडको तेस्रो लहरबाट प्रभावित, सामना गर्न प्रतिष्ठान तयार

जुम्ला पनि कोभिडको तेस्रो लहरबाट प्रभावित, सामना गर्न प्रतिष्ठान तयार


जुम्ला – विश्वभर फैलिएको कोभिड-१९ संक्रमणको पहिलो लहर भन्दा दोस्रो लहरमा जुम्लाले मानवीय क्षति व्यहोर्नु परेको थियो । पहिलो लहरमा मानवीय क्षति हुनबाट जोगिएको जुम्लाले संक्रमणको दोस्रो लहरमा २३ जनालाई गुमाउनु प¥यो । दोस्रो लहरमा ज्यान गुमाएका २३ जना मध्ये बढी जेष्ठनागरिकले ज्यान गुमाए ।

कोभिड संक्रमण तेस्रो लहर पनि जुम्ला फैलिसकेको छ । कोभिड-१९ संक्रमणको परीक्षणमा ८ जना संक्रमण देखिएको छ । संक्रमणको तेस्रो लहर ओमिक्रोनबाट यहाँका नागरिक निकै त्रसित देखिन्छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक राजिब शाहले कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठान तयारी अबस्थामा रहेको बताए ।

उनले भने, ‘प्रतिष्ठानमा १ सय २० वटा आइशोलेसन बेड तयारी छ । आईसियू बेड, अक्सिजन पनि तयारी अबस्थामा रहेको छ । प्रतिष्ठानमा पिसिआर किटको अभाव रहेको छ । त्यसका लागि हामीले सम्बन्धीत ठाउँमा माग गरेका छौँ ।’

अहिले जुम्लामा ८ जना संक्रमितमध्ये तीन वर्षका एक जना बच्चा पनि रहेको र सो बच्चाको भने प्रतिष्ठानमा उपचार भइरहेको उनले बताए ।
संक्रमणको तेस्रो लहर अहिले तिव्र गतिमा फैलिन थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन समितिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थापन गर्न सुझाएको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइका अनुसार संक्रमण तिव्र गतिमा फैलिदै गएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले संक्रमण तेस्रो लहर चुनौतीपूर्ण रहेकाले प्रतिष्ठान प्रतिकारको तयारी अवस्थामा रहन आग्रह गरे । उनले भने,’प्रतिष्ठानले गरेको तयारी र पूर्वाधार तथा सेवा चुस्तदुरुस्त हुनुका साथै सचेत हुन आवश्यक छ ।’

सर्वसाधरणलाई माक्स वितरण

चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपानेको नेतुत्वमा नागरिकलाई कोभिड भाइरसबाट जोगिन माक्स वितरण गरिएको छ । उनले कोरोना भाइरसको तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै जुम्ला बजारका नागरिकलाई माक्स वितरण गर्न थालेकी हुन् । जुम्लाको बसपार्क, कालेखोली, एयरपोर्र्ट, भारतीवाडा र अस्पताल क्षेत्रका सर्वसाधरण नागरिकलाई माक्स बितरण गरिएको उपप्रमुख न्यौपानेले बताइन् । ‘नागरिकलाई सुरक्षित बनाउन माइकिङ गर्दै माक्स बितरण गरेका हौँ । माक्स बितरणसँगै सचेतीकरण पनि गरेका छौँ,’उपप्रमुख न्यौपाने भनिन् ,’युनिसेफको आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको समन्वयमा झण्डै ३ हजार माक्स वितरण गरिएको हो ।’

नागरिकले माक्स लगाउन छोडिसकेका छन् । यस कारणले पनि हामीले करिब तीन हजार मक्स वितरण गरिएका उनले बताइन् । बजारमा माक्स बितरण गर्दै गर्दा धेरै स्थानीय अहिले माक्स नलगाएको पाइयो । उनीहरुलाई पहिलो पटक माक्स दिर्दै घरबाहिर निस्कदा अनिबार्य माक्स लगाउन सुझाव दिइएका छौँ,’उनले भनिन् ।

खोप लगाउनेको भिड

कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोनले त्रसित नागरिक संक्रमणबाट बच्नका लागि विरुद्धको खोप लगाउनेको भिड लाग्ने गरेको छ । सरकारले पनि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यको नीति लिएपछि कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकको भिड लाग्ने गरेको हो ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखामा २ माघदेखि खोप लगाउनेको भिड लाग्ने गरेको छ । स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महतका अनुसार माघ २ देखि ६ गतेसम्म खोप लगाउनेको निरन्तर भिड लाग्ने गरेको छ । उनले भने दैनिक ४-५ सय नागरिकलाई कोरोना संक्रमण विरुद्धको खोप लगाउदै आएका छौँ ।

चन्दननाथ नगरपालिकाको जम्मा जनसंख्या २४ हजार छ । तर यो शाखाबाट २२ हजार बढी नागरिकलाई खोप लगाइसकेका छौँ । यहाँ खोप लगाउने सवै नगरपालिका भित्रका नागरिक होइन् । यहाँ जिल्लाको सदरमुकाम भएकाले सवै पालिका तथा जिल्ला बाहिरका नागरिक चन्दननाथ नगरपालिका अर्थात खलंगामा केन्द्रीत हुन्छन् । यहाँ आउने जो सुकै नागरिकलाई खोप लगाउदै आएको उनले बताए ।

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थिति हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न कोभिड संकट व्यवस्थापन समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रसाइले बताइन् । यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ ।

७ माघदेखि लागु हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायत र बैंक तथा वित्तिय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

कोभिड विरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

२३ जनाको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ०७७ वैशाख २० गतेदेखि कोभिड परीक्षण ल्याव सञ्चालनमा आएको हो । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको छ ।

यसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो। भने, ३ हजार ८ सय २ जनाको एन्टीजोन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ