२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहिमाली जिल्लामा पनि आइपुग्यो डेंगु, जुम्लामा डेंगुका दुई जना बिरामी

हिमाली जिल्लामा पनि आइपुग्यो डेंगु, जुम्लामा डेंगुका दुई जना बिरामी


जुम्ला–सामान्यतयाः मानिसहरुमा डेंगु रोग तराई र पहाडी जिल्लाहरुमा मात्रै फैलिने रोग मानिन्थ्यो । अझ तराई क्षेत्रमा लामखुट्टे बढी हुन्छन् । तर, पछिल्लो समयमा डेंगु रोग सार्ने लामखुट्टे पहाडमात्रै होइन्, चिसो हावापानी भएको हिमालमा पनि चढ्न थालेका छन् ।

कर्णाली प्रदेशको जुम्ला हिमाली जिल्लामा पर्दछ । जुम्लामा पनि दुई जना डेंगु रोगका बिरामी फेला परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. राजीव साहले बताए । ‘उहाँहरुको अहिले अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ,’ उनले भने ।

जुम्ला हिमाली जिल्ला पर्ने भएपनि यो जिल्ला सडक सञ्जालमा जोडिएको छ । ‘तराईका जिल्लाहरुबाट दैनिक सवारी साधन ओहोर—दोहोर हुने गर्दा सवारी साधनमार्फत हिमाली जिल्लामा पनि डेंगु रोग सार्ने लामखुट्टे पुग्छन्,’ डा. साहले भने, ‘यहाँका मान्छे तराईंका जिल्ला नेपालगन्जतिर जाने—आउने हुन्छ । यसरी पनि डेंगुको रोग फैलिने गर्दछ ।’

देशभर डेंगु संक्रमित हुनेको संख्या ९ हजार ८ सय ३५ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले तथ्यांक सार्वजनिक गरेको छ । डेंगुबाट काठमाडौं उपत्यका सबैभन्दा बढी प्रभावित छ । डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै संख्या काठमाडौं र ललितपुरमा छन् । ललितपुरमा ३ हजार ६ सय २२ र काठमाडौंमा २ हजार ४ सय १४ जनामा डेंगु संक्रमण भएको महाशाखाले जनाएको छ ।

इडिसिडीअनुसार हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु फैलिएको छ । उपत्यकामा संक्रमण तीव्र छ । महाशाखाका कीटजन्य रोग प्रमुख गोकर्ण घिमिरेका अनुसार संक्रमितमध्ये बागमती प्रदेशमा मात्रै ७ हजार ४ सय ४० जना छन्  । लुम्बिनीमा प्रदेशमा १ हजार ३ सय ५६, सुदूरपश्चिममा २ सय ७१ जना, प्रदेश १ मा ३ सय २० जनालाई डेंगु संक्रमण भएको छ । गण्डकीमा २ सय २, मधेस प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा करिब ६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण अझै फैलँदो छ ।

डेंगु संक्रमण भयावह बनेपछि यसबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो १५ दिनयता सात जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएको महाशाखाले जनाएको छ । मृत्यु हुनेमध्ये मेडिसिटी अस्पतालमा उपचाररत ३८ वर्षीय पुरुष, निसर्ग अस्पतालमा ३५ वर्षीया महिला, कान्ति बाल अस्पतालमा उपचाररत तीन वर्षीया बालिका छन् । भेरी अस्पतालमा १२ वर्षीया बालिकाले डेंगु संक्रमणबाट ज्यान गएको छ ग्रान्डी र सुमेरु अस्पतालमा उपचाररत एक–एकजना र चितवन मेडिकल कलेजमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट मृत्यु भएको महाशाखाले छ ।

इडिसिडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. हेमन्त ओझा आफूहरुले अपेक्षा गरेकोभन्दा फरक ठाउँमा पनि डेंगुका केसहरुको पुष्टि भएको बताए । ‘अघिल्ला वर्षहरुमा छिटफुट रिपोर्टिङ हुने हिमाली जिल्लाहरुमा पनि अहिले डेंगु देखिएको छ । मुगु, ताप्लेजुङ, संखुवासभाकाजस्ता ठाउँहरुमा देखिनु अनौठो हो,’ उनले भने, ‘मौसममा परिवर्तनअनुसार डेंगुले पनि आफू एडजष्ट हुने गरी विशेषता विकास गर्दै लगेको देखिन्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ