२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपाठेघर संक्रमणले ग्रसित छन् ग्रामीण भेगका महिला

पाठेघर संक्रमणले ग्रसित छन् ग्रामीण भेगका महिला


जुम्ला–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पाठेघरको मुखको क्यान्सरबाट संसारभर प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको मृत्यु हुन्छ । मृत्यु हुनेमा विकासोन्मुख तथा अविकसित देशका महिलाको संख्या धेरै छ । नेपालमा प्रत्येक वर्ष अनुमानित १० हजार २० जनामा यो रोग देखिन्छ ।

हालै सर्वाेदय नेपाल जुम्लाले यहाँका पातारासी, तातोपानी र तिला गाउँपालिकामा लैगिंक समानता र महिला किसानलाई सहयोग कार्यक्रमअन्र्तगत प्रजनन स्वास्थ्य तथा पाठेघर सम्वन्धी शिविरमा ३६६ जना महिलाको पाठेघर परीक्षण गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा पाठेघर परीक्षण शिविरमा पातारासी गाउँपालिका ३ का १६७ जना महिला मध्ये ७ जनाको पाठेघर खसेको र ५ जनाको काठेघर संक्रमण भएको पाइएको छ ।

तातोपानी गाउँपालिका ३ लिताकोटका १२१ जना महिलाको पाठेघर परीक्षण गर्दा ३ जना महिलाको पाठेघर खसेको र ५ जनाको पाठेघर संक्रमण भएको पाइएको प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. रमिता चौलागाईले बताइन् । ‘तिला गाउँपालिका ३ कुडारीका ७८ जना महिलाको पाठेघर परीक्षण गर्दा ३ जनाको पाठेघर खसेको भटिएको छ ।’

पाठेघरमा हुने संक्रमणबाट क्यान्सरको सुरुवात हुन्छ । ग्रामीण भेगका महिलाहरु प्रायजसो पाठेघरमा संक्रमण देखिने गरेका छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउने, पोषणको अभाव, बढी तौल भएका भारी बोक्ने, असुरक्षित यौन सम्बन्ध, सरसफाइको अभाव आदि विभिन्न कारणले पाठेघरमा घाउ हुने र संक्रमण फैलने गर्छ । पाठेघरको संक्रमणले विस्तारै क्यान्सर गराउने सम्भावना बढेर जाने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार संक्रमण हुँदा विभिन्न जटिलता देखिन्छन् । धेरैजसोमा बच्चा पाठेघरमा नबसेर नलीमा बस्ने समस्या देखिन्छ । जसले गर्दा शल्यक्रिया गर्नुपर्ने, बच्चा खेर जाने, प्रजनन क्षमतामा असर पर्ने हुन्छ । कतिपय अवस्थामा संक्रमणका कारण बाँझोपनासमेत हुने गर्छ । लामो समयसम्म तल्लो पेट दुख्ने समस्या हुन्छ । यस्तै, डिम्वासय र नलीमा पिप जम्ने समस्या हुन्छ ।

पाठेघरमा संक्रमण भइसकेपछि महिलामा तल्लो पेट दुख्ने गर्छ । यस्तै, ढाड दुख्ने पनि समस्या हुन सक्छ । विस्तारै सेतो पानी बग्ने, गनाउने पानी बग्ने, यौनसम्बन्ध राख्दा पोल्ने वा दुख्नेजस्ता समस्या देखिन्छन् । कतिपयमा कमजोरीपन देखापर्ने, ज्वरो आउने हुन्छ । महिनावारीमा गडबडी हुने गर्छ । पिसाबमा समस्या देखिन्छ, पिसाब पोल्ने, छिटो–छिटो पिसाब लाग्ने हुन्छ ।

धेरैजनासँग यौनसम्बन्ध कायम राख्ने महिला पाठेघरको संक्रमणबाट पीडित हुने सम्भावना अत्यधिक रहन्छ । यस्तै, सरसफाइको अभाव (नियमित तथा महिनावारीको समयमा पनि) संक्रमणको अर्को कारण हो । कम पोषणयुक्त खाना पनि पाठेघर संक्रमणको कारक बन्ने गरेको छ ।

प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ डा. सागर कोइराला यौन सम्बन्ध सुरक्षित बनाउनुपर्नेमा जोड दिन्छन् । ‘सकेसम्म एकजनासँग मात्र यौनसम्बन्ध कायम राख्दा उपयुक्त हुन्छ । समय–समयमा रगत परीक्षण गर्ने, आफ्नो यौनसाथीको स्वास्थ्यबारे जानकारी लिने समेत गर्नुपर्छ,’ उनले भने । शरीरको सरसफाइमा ध्यान दिने, महिनावारीको समयमा संक्रमण हुन सक्ने सम्भावना बढी रहने हुँदा त्यो समयमा अझ विशेष ख्याल गर्नुपर्ने उनको मत छ ।

‘पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ । विवाहित महिलाले वर्षमा एकपटक पाठेघरको पानी जाँच गराउनुपर्छ । जसले गर्दा संक्रमण भएको पत्ता लाग्नुका साथै क्यान्सर हुनबाट बच्न पनि सकिन्छ,’ उनले थपे, ‘संक्रमणको लक्षण देखिएमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।’ यसको उपचार समयमा नहुँदा महिलाहरू क्यान्सरको सिकार हुन सक्छन्, त्यसैले समयमै सचेत हुन जरुरी रहेको चिकित्सकको सुझाव छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ