२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिंजाको विष्टवाडामा प्रसुति गृह स्थापना

सिंजाको विष्टवाडामा प्रसुति गृह स्थापना


जुम्ला—जुम्लाको सिंजा गाउँपालिका–२ विष्टवाडामा आधारभूत स्वास्थ्य केन्द्रमा प्रसुति गृह स्थापना गरिएको छ । संविधान दिवसको अवसरमा प्रसुति गृह स्थापना गरिएको हो ।

पहिलो कार्यकालका स्थानीय तहका जनप्रतिनिधिले विष्टवाडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको थियो । सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललितजंग रोकायाका अनुसार आवश्यकताका आधारमा थप सेवा विस्तार गर्न दुई महिना अघि दोस्रो कार्यकालका स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

‘असोज ३ गते संविधान दिवसको अवसरमा आधारभुत स्वास्थ्य केन्द्रमा थप सेवा विस्तार गरी प्रसुति गृह स्थापना गरिएको हो । निकट भविष्यमा ल्याव सेवा विस्तारका लागि पनि तयारी गरिएको छ,’ उनले भने, ‘ल्याव सेवाका लागि आवश्यक दक्ष जनशक्तिका लागि विज्ञापन गरेका छौं ।’

यसअघि त्यो क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाले प्रसुति सेवा तथा एएनसी पीएनसी चेकजाँच गर्नका लागि दुई घण्टा टाढा रहेको नराकोट स्वास्थ्य चौकीमा आउनुपर्ने बाध्यता थियो । वडाध्यक्ष तीर्थ वडले यो बाध्यताबाट यहाँका महिला तथा अन्य नागरिकले छुटाकारा पाउने विश्वास व्यक्त गरे ।

प्रसुति गृहका लागि आवश्यक दक्ष जनशक्ति एसबिए तालिम प्राप्त दक्ष जनशक्ति एक जना, अहेव दुई जना, अनमी दुई जना र सहयोगी एक जना गरी अहिले ६ जना जनशक्तिको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । जनस्वास्थ्य कार्यालय जुम्लाको अनुगमन टोलीले त्यो क्षेत्रमा प्रसुति गृहको उपयुक्त ठानेपछि स्थापना गरिएको हो ।

सिंजा गाउँपालिकाको धापा, नराकोट, शनिगाउँ, दात र विष्टवाडा गरी पाँच स्थानबाट प्रसुति सेवा प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष धितालले भने घरमा सुत्केरी नहुने र स्वास्थ्य संस्थामै दक्ष जनशक्तिबाट सुरक्षित सुत्केरी गराउनका लागि यो गाउँपालिका भित्र पाँच ठाउँबाट प्रसुति सेवा प्रदान गरिएको बताए । स्थानीय तहका प्रसुति गृहमा सुत्केरी हुन नसकेका जटिल केसलाई सुविधासम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल जुम्लामा लैजानका लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ