२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य चौकीको पर्खाल बनाउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा ६ जना विरुद्ध मुद्धा दायर

स्वास्थ्य चौकीको पर्खाल बनाउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा ६ जना विरुद्ध मुद्धा दायर


जुम्ला—मुगुस्थित छायाँनाथ रारा नगरपालिका–११ मा स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली बिल भरपाई बनाएर रकम हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । शुक्रबार ६ जनाले ग्याविन पर्खाल निर्माण कार्य गर्दा हुँदै नभएको कार्यलाई नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई ७ लाख ५७ हजार ३०७ रुपैयाँ रकम हिनामिना गरेको आरोपमा आयोगले मुद्धा दायर गरेको हो ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, इन्जिनियर पदमबहादुर बुढा, सब–ओभरसियर गडबहादुर बुढा, छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, उक्त नगरपालिका १३ नम्बर वडाका तत्कालीन अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरु हजरकला कामी र हरिनी नेपाली विरुद्ध आयोगले मुद्धा दायर गरेको हो ।

आयोगले मल्ल र बुढाद्वयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ ६२ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर गर्न माग दाबी गरेको छ । त्यसैगरी, रोकाया, सावत, कामी र नेपालीविरुच हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन प्रतिवेदन पेश गरी ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा रकम हिनामिना गरी नेपाल सरकारलाई हानी नोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना गर्न माग दाबी गरेको छ ।

छायाँनाथ रारा नगरपालिका, ११ नम्बर वडाका तत्कालीन वडा अध्यक्ष बुढाले नभए नगरेका कुरा देखाई गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने कार्य गरी उक्त रकम बराबर रकम हिनामिना गरी नेपाल सरकारलाई हानी नोक्सानी गरेको आरोप आयोगको छ । आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गर्न माग दावी गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ