२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमन्त्री पछाई भन्छन्, ‘कास थुप्रै चुनौतीबीच उठेको प्रतिष्ठान हो’

मन्त्री पछाई भन्छन्, ‘कास थुप्रै चुनौतीबीच उठेको प्रतिष्ठान हो’


जुम्ला—कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान थुप्रै चुनौतीका बीच उठेको प्रतिष्ठान भएको बताएका छन् । उनले प्रतिष्ठान कर्णालीको मात्रै नभएर देशकै शान भएको बताए ।

सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाको विषयमा मन्त्री र सांसदसँग अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

‘रोग, भोक, अशिक्षा, बेरोजगारी भएको ठाउँ भनेर परिचित कर्णालीमा प्रतिष्ठानको जन्म हुनु सबल पक्ष हो,’ उनले भने, ‘आज यही ठाउँले स्वास्थ्यकर्मी जन्माएर पठाउँदैंछ । यो हाम्रो लागि महत्वपूर्ण कुरा हो ।’

बोल्ने कम काम गर्ने र काम बढी गर्नुपर्ने प्रतिनिधिसभा सांसद छिरिङ लामाले बताइन् । ‘यो ठाउँको विकास कसरी गर्ने ? गल्ती सच्याउने जिम्मेवारी नेतृत्वमा रहेकाको मात्रै नभई हामी सबैको हो,’ उनले भनिन्, ‘हामी जनताको भरियाको रुपमा प्रस्तुत हुन चाहन्छौं । तथापि यो प्रतिष्ठानको विकासका लागि चाल्नुपर्ने पहलकदमीको लागि म सदैव अग्रपंक्तिमा रहनेछु ।’

कर्णाली प्रतिष्ठान ल्याउने जिम्मेवारी पूरा गरेका पूर्व सांसद नरेश भण्डारी धन्यवादको पात्र भएको कर्णाली प्रदेशसभाका सदस्य देवेन्द्रबहादुर शाहीले बताए । ‘प्रतिष्ठानको विषयमा आम नागरिक, देशको वौद्धिक वर्गदेखि नेतृत्व गर्नेसम्मले खुला दिलले छलफल गर्न जरुरी छ,’ उनले भने, ‘प्रतिष्ठान काम गर्ने थलो हो । राजनीति गर्ने थलोको रुपमा विकास नगरिदिन हुन यहाँका पदाधिकारीलाई आग्रह गर्छु ।’

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच र अकालमा मृत्यु हुनेको संख्या कम गर्न, दक्ष जनशक्तिको उत्पादन र त्यसलाई संसारभर प्रतिस्पर्धी बनाउनु प्रतिष्ठानको ध्येय रहेको रजिस्ट्रार नृपेन्द्र महतले बताए । ‘प्रतिष्ठानका राम्रा र सकारात्मक पक्षहरूको वकालत गर्ने वकिलको रुपमा प्रस्तुत भइदिन अनुरोध गर्छु,’ उनले भने, ‘यसमा सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहनेछ । यो हामी सबैको दायित्व पनि हो ।’

प्रदेश सांसद देवेन्द्र शाहीले प्रतिष्ठानका चिकित्सक डा. करण शाह कुटिएको विषय तिललाई पहाड बनाएको भन्ने सन्दर्भलाई जोडेर प्रतिष्ठानका डा. डबल धामीले यस्ता गतिविधीले कासमा डाक्टरहरु आउने संख्या घटेकोतिर ध्यान दिन आग्रह गरे। ‘प्रतिष्ठानमा युवा जनशक्तिको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘यहाँ आउने जनशक्तिलाई लामो समय टिकाउने वातावरण सबैले बनाउनुपर्छ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ