२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य परीक्षणसमेत नपाएकी गर्भवती बालिका जीवनरक्षाको माग गर्दै

स्वास्थ्य परीक्षणसमेत नपाएकी गर्भवती बालिका जीवनरक्षाको माग गर्दै


जुम्ला–एक जना १६ वर्षीया गर्भवती बालिकाले जीवन रक्षाका माग गर्दै सामाजिक सञ्जालमा आफ्नो भिडियो सार्वजनिक गरेकी छन् । उनले गत वर्षको चैत महिनामा सुर्खेतस्थित कुर्मी भन्ने ठाउँका २० वर्षीय झेरी मगरसँग वालविवाह गरेकी हुन् ।

उनका पति अहिले भारतमा सम्पर्कविहीन छन् । ७ महिनाको पेटमा बच्चा भएकाले सुत्केरी हुने समय नजिकिदैं गएपछि उनले जीवन रक्षाको माग गरेकी हुन् ।

गर्भावस्थामा स्वास्थ्य परीक्षण नभएको, स्वास्थ्य कमजोर हुँदै गएको र आफन्त कोही नभएको भन्दै सामाजिक सञ्जालमा जीवन रक्षाका लागि आग्रह गरेको उनले बताइन् ।

गर्भवती बालिकाले जीवन रक्षाका लागि सामाजिक संजालमा आग्रह गरेको थाहा पाएपछि बालिकाको खोजी गरेको पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बताइन् । उनले भनिन् ‘बाललिकालाई सम्पर्कमा ल्याएर आधारभूत सहयोगको पहल भएको छ ।’ ती बालिकालाई उपाध्यक्ष शाहीले आफू बस्ने घरमा ल्याएर आफ्नो कोठामा आश्रय दिएकी छन् ।

महासंघका उपाध्यक्ष शाहीले ती बालिकाको बारेमा स्थानीय प्रशासन र सरोकारवाला निकायमा जानकारी गरेको बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ७ महिनाको गर्भ पहिलोपटक चेक जाँच भएको छ । डाक्टरले आमा र बच्चाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।

गर्भवती बालिका जुम्लाको बसपार्कमा कोठाभाडामा बस्दैं आएकी थिइन् । विवाहपछि पति घरमा नहुँदा घरमा सासु, ससुराले हिंसा गर्न थालेपछि आफू आश्रय लिन जुम्ला माइती घर आएको बालिकाले बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार आवास, पेस नेपाल जुम्लासँग समन्वय गरी गर्भवती बालिकालाई सुर्खेतस्थित आवासको सेफ हाउसमा राख्ने पहल भइरहेको छ । कनकासुन्दरी गाउँपालिका महिला शाखा र वडाको सिफारिसको आधारमा जिल्ला प्रशासनको सिफारिसमा आवासको सेफ हाउसमा राख्ने तयारी भइरहेको छ ।

बुबाको आत्महत्यापछि परिवारको बिचल्ली

बालिकाको बुवा भेडा, बाख्रा बिक्रीवितरण गर्ने व्यापारी हुन् । गाउँघरबाट भेडा, बाख्रा खरिद गरेर जुम्लाको सदरमुकाम खलंगामा ल्याएर बिक्री वितरण गर्दै आएको थिए ।

डेढ वर्षअघि मासु काट्ने व्यापारीले भेडा, बाख्रा लिएको थियो । पछि पैसा नै नदिएर मासु काट्ने व्यापारी भागेपछि गाउँघरको ऋण तिर्न नसकेर बुवाले आत्महत्या गरेको ती बालिकाले बताइन् ।

बालिकाले भनिन्, ‘बुबाले भेडा, बाख्रा खरिदका लागि लिएको ऋण छ । त्यो ऋण तिर्न सक्ने अवस्था छैन । अहिले साहुले मागेका छन् । यस्तै अवस्थाले गर्दा आमा डिप्रेसनमा पर्नु भएको छ ।’ उनका तीन जना भाइबहिनी छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ