२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशले संचालनमा ल्यायो आफ्नै प्रयोगशाला, अन्वेषण केन्द्रका रुपमा विकास गरिने

कर्णाली प्रदेशले संचालनमा ल्यायो आफ्नै प्रयोगशाला, अन्वेषण केन्द्रका रुपमा विकास गरिने

सस्तो शुल्कमा परीक्षण सेवा प्रवाह हुने


वीरेन्द्रनगर—कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विगतमा कुनै पनि रोग परीक्षण गर्ने प्रयोगशाला नहुँदा रोग निदानका लागि परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

प्रयोगशाला नहुँदा प्रदेश बाहिर कुनैपनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था रहेकोमा अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि सहज हुने भएको छ ।

शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईंले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् ।

मन्त्री पछाईंले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाएर गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए । ‘प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्नेछ,’ उनले भने, ‘प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा पनि विकसित गर्न लागिएको छ ।’

यहाँबाट जनस्वास्थ्य सम्वन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने प्रयोगशालाका निर्देशक वृषबहादुर शाहीले बताए । ‘अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुनेछ,’ उनले भने, ‘अब रोगको परीक्षण गर्न बाहिर जानुपर्ने छैन ।’

प्रयोगशालामा ९ जना प्राविधिकहरुको दरबन्दी भएपनि हाल तीन जना मात्रै पदपूर्ति भएको छ । अन्य गरी कुल १६ जना जनशक्ति छन् ।

प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए ।

‘प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने छ,’ गिरीले भने, ‘दुर्गम तथा पिछडिएको क्षेत्रको जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्नेछ ।’

प्रयोगशालामा अन्यत्र भएका झण्डै आधा रकममा रगत, दिसा पिसाब, खकारलगायतको परीक्षण हुने जनाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ