२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुको कार्मारोङ सामुदायिक अस्पताल तीन महिनादेखि डाक्टरबिहीन

मुगुको कार्मारोङ सामुदायिक अस्पताल तीन महिनादेखि डाक्टरबिहीन


जुम्ला—मुगुम कार्मारोङ गाँउपालिकास्थित सामुदायिक अस्पतालमा तीन महिनादेखि डाक्टरबिहीन छ । अस्पताल डाक्टरबिहीन हुँदा गाँउपालिकाका १ देखि ९ वडासम्मका सर्वसाधारण मर्कामा परेका छन् ।

अस्पतालमा ०७९ माघ २८ देखि मुगुम कार्मारोङ गाउँपालिका—६ रिउसबगरमा रहेको सामुदायिक अस्पतालमा डाक्टर नहुँदा उक्त अस्पतालबाट हुने सेवा प्रवाहबाट सर्वसाधारण मर्कामा परेका हुन् ।

०७६ सालमा छायाँ नेपाल संस्थाले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरी र दुई वर्षसम्म अस्पताल कार्यरत स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको थियो । त्यसपछि अस्पतालको सम्पूर्ण व्यवस्थापन मुगुम कार्मारोङ गाँउपालिकाले गर्दै आएको छ ।

अस्पतालमा डाक्टरको दरबन्दी नभएपनि गाँउपालिकाले करारमा डाक्टरको व्यवस्थापन गरी उक्त अस्पतालमा ०७८ साउनदेखि ०७९ मंसिर ३० गतेसम्म डा. भोगिन्द्र कार्की कार्यरत थिए । डा. कार्कीले ३० मंसिरपछि कामकाज गर्न नसक्ने भन्दै राजीनामा दिएपछि अस्पताल डाक्टरबिहीन भएको हो ।

अस्पतालमा डाक्टर हुँदा बिरामीहरुले सहज रुपमा सेवा पाएका थिए । तर, अस्पतालमा उपचार हुन नसकेकालाई जिल्ला अस्पताल वा अन्य अस्पतालमा रिफर गर्ने गरिएको थियो । अहिले डाक्टर नहुँदा बिरामीहरु एकदेखि दुई दिन लगाए पैदल हिडेर जिल्ला अस्पतालमा पुग्नु परेको मुगुम कार्मारो गाँउपालिका—६ का ४२ वर्षीय सोनाम लामाले बताए ।

अहिले डाक्टर नभएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले जिल्ला अस्पतालमै पठाउने गरेकाले जिल्ला अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको सोही गाँउपालिका—८ की ३२ वर्षीय ईटोल लामाले बताए ।

मंसिर ३० देखि पुस २८ गतेसम्म उक्त अस्पताल डाक्टरबिहीन भएपछि केही समयका लागि गाँउपालिका र जिल्ला अस्पतालबीच ०७९ पुस २९ गते १५/१५ दिनमा जिल्ला अस्पतालमा एक जना डाक्टरलाई काजमा काम गर्ने गरी पठाउने निर्णय भयो । उक्त सम्झौताअनुसार ०७९ माघ १ गतेदेखि २८ गतेसम्म जिल्ला अस्पतालबाट खटिएका डा. रविन भट्टराईले काम गरेको मुगुम कार्मारोङ गाउँपालिकाका स्वास्थ्य निरीक्षक बलिबहादुर बुढाले जानकारी दिए ।

जिल्ला अस्पतालमा डाक्टरको अभाव भएपछि पुनः डा. भट्टराईलाई जिल्ला अस्पतालमा फर्काएपछि माघ २८ गतेबाट सामुदायिक अस्पतालमा डाक्टरको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका हुन् । अहिले यो गाँउपलिकामा १० शैय्याको अस्पताल निर्माण भइरहेको छ । अस्पतालका लागि डाक्टरको दरबन्दी स्वीकृत भएको छैन ।

गाउँपालिकाले अस्पतालको कार्यविधि बनाई एक जना डाक्टरको दरबन्दी कायम गरेको भएपनि सामुदायिक अस्पतालका लागि बेला—बेला दरखास्त आह्वान गर्दा कसैको दरखास्त नपरेपछि जिल्ला अस्पताललाई गुहार्नु परेको हो । जिल्ला अस्पतालमा पनि अहिले डाक्टरको अभाव हुँदा यो समस्या भएको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

जिल्ला अस्पताल र गाउँपालिकाबीच डाक्टरबारे सम्झौता भएको भन्ने आफूलाई जानकारी अहिले मात्र भएको छ । जिल्ला अस्पतालमा पनि डाक्टरको अभाव नै छ । तर, अस्पताल व्यवस्थापनसँग बुझेर अस्पताललाई कुनै बाधा नपर्ने भए केही समयका लागि भएपनि सामुदायिक अस्पतालमा डाक्टरलाई काजमा पठाउन सल्लाह गर्न सकिने जिल्ला अस्पतालका प्रमुख डा. कमल ढकालले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ