२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश‘सुरक्षित प्रसुतिका लागि वर्थिङ सेन्टर स्थापना गरौं’

‘सुरक्षित प्रसुतिका लागि वर्थिङ सेन्टर स्थापना गरौं’


ग्रामीण भेगका गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति गराएर मातृ र शिशु मृत्युदर घटाउने उद्देश्यले जुम्लाको सिंजा गाउँपालिका–५ र ६ मा वर्थिङ सेन्टर नै स्थापना गरी पाँच वर्षसम्म सञ्चालन गरेर हालै स्थानीय तहलाई हस्तान्तर गर्ने सामाजिक अभियन्ता तथा एक्सन वक्स नेपालका अध्यक्ष सम्झना पौडेलसँग हेल्थ आवाजका मानदत्त रावलले गरेको कुराकानीः

एक्सन वक्स नेपाल कस्तो संस्था हो र कस्ता प्रकृतिका काम गर्दै आएको छ ?
सन् २०१० मा एक्सन वक्स नेपालको स्थापना भएसँगै सञ्चालक समितिको सदस्य तथा सञ्चार संयोजकको रुपमा जिम्मेवारी लिएर काम गर्दै आएको हो । पछि दुई कार्यकाल महासचिव भएर काम गरे र हाल अध्यक्षको रुपमा काम गरिरहेको छु । चितवनको भरतपुरमा जन्मेको, हाल काठमाडौं ३२ मा स्थायी बसोवास छ । विगत १६ बर्षदेखि पेशाले पत्रकारिता गर्दै आएको छु । लामो समयदेखि स्वास्थ्य तथा विभिन्न विषयका अधिकारको क्षेत्रमा पनि काम गर्दै आएको छु । हाल विभिन्न सामाजिक संस्थामा आवद्ध एक्सन वक्स नेपालको अध्यक्ष पदमा छु ।

व्यक्तिगत रुपमा भन्नुपर्दा केही काम गरौं, हामी एक नागरिक भएको हैसियतले पनि समाजप्रति हाम्रो जिम्मेवारी हुन्छ । त्यसैले पनि समाज रुपान्तरणको लागि समाजको विकासका लागि केही काम गरौं भन्ने मान्यताले अहिलेसम्म समाजिक काममा लागेकी छु । हामीले समाज परिवर्तनका लागि विना स्वार्थ निरन्तर रुपमा काम गरिरहने हो भने पक्कै पनि एक दिन त्यो सफल हुन्छ ।

एक्सन वक्स नेपाल (एवोन) सन् २०१० मा काठमाडौँ जिल्ला प्रशासन कार्यलयमा दर्ता भई काम सुरु गरेको गैरसरकारी संस्था हो । यसले मुलुकका विभिन्न जिल्लामा आफ्नो क्षेत्र विस्तार गरेर काम गरिरहेको छ । स्थापनादेखि नै संस्थाले महिला तथा किशोरीहरुको शिक्षा, स्वास्थ्थ, जीविकोपार्जनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
हामीले प्राकृतिक प्रकोप जस्तैः भूकम्प, बाढी, पहिरो आगलागीमा आकस्मिक रुपमा भइपरी आउने तत्कालीन तथा दीर्घकालीन कामहरु पनि गर्दै आएका छौं । परियोजनाको रुपमा शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका सवालमा काम गर्दै आएका छौं ।

एक्सन वक्स नेपालले भूगोलमा काम गर्दै आएको छ ?
हामीले सुरुवातदेखि नै कर्णाली प्रदेशको जुम्लामा काम गर्न सुरु गरेका हौं । विस्तारै आवश्यकताअनुसार आफ्नो कार्य क्षेत्रलाई विस्तार गर्दै गएका छौं । कर्णाली प्रदेशको जुम्ला, कालिकोट र मुगु जिल्लामा लामो समयदेखि महिला तथा किशोरीहरुको शिक्षा, स्वास्थ्थ तथा उनीहरुको जीविकोपार्जन कसरी सुदृढ गर्न, सरल बनाउन सकिन्छ भनेर काम गरिरहेका छौं ।

सुगमभन्दा दुर्गममा काम गर्नुको कारण के हो ?
सजिलो काम त सबैले गर्छन्, विभिन्न कारणले सहज मानिएको स्थानमा त सरकारी तथा गैरसरकारी संघ सस्थाहरुको पनि सहज उपस्थिति हुन्छ । स्थापनादेखि नै हाम्रो टिमको साथीहरुको के कुरामा सहमति थियो भने हामी फरक प्रकृतिको भएर स्थापित हुने प्रयास गर्नुपर्छ । हामी भुगोल, पहुँचका हिसाबले पछि परेका असहज स्थानमा काम गरौं भन्ने हो । हामीले सन् २०१० देखि नै कर्णाली प्रदेशलाई मुख्य कार्य थलो बनाएका थियौं र अहिलेसम्म पनि छौं ।

स्वास्थ्य क्षेत्रमा कस्ता—कस्ता काम गर्दै आउनु भएको छ ?
हामी जब मानिस स्वस्थ हुन्छ, तब मात्र पढाएका कुरा सुन्ने, सिक्ने काम हुन सक्छ भन्ने मान्यता राख्छौं । त्यसैले व्यक्तिको स्वास्थ्यमा र शिक्षामा बढी जोड दिएर काम गरिरहेका छौं । स्वास्थ्यको कुरा गर्दा जुम्ला, मुगु र कालिकोटका स्वास्थ्यकर्मीलाई विभिन्न चरणमा तालिम दिएका छौं । स्वास्थ्य संस्थामा स्थास्थ्य समाग्री परिवार नियोजनका साधन प्रयोग गर्न आउने, सुत्केरी हुन आउनेलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थामा उपलब्ध गराएका छौं ।

स्वास्थ्य संस्थामा सेवा लिन आउनका लागि समुदायस्तरमा सचेतनाका काम पनि गरेका छौं । यसो गर्दा समुदायमा पनि स्वास्थ्य सेवा उपलब्ध हुने भयो, सेवा दिने व्यक्ति तथा संस्था पनि सीपयुक्त तथा सहज उपलब्धता पनि हुने भयो । यसरी काम गर्दा समुदायमा निकै सकारात्मक प्रभाव परेको पाएका छौं । त्यस्तै, हामीले जुम्लामा आवश्यकता पहिचान गरी समुदाय, स्थानीय सरकार तथा अन्य सरोकारवालाको परामर्श गरेर सिंजा गाउँपालिका–५ र ६ मा वर्थिङ सेन्टरको स्थापना मात्र नभएर पाँच वर्षसम्म आफैले कर्मचारी तथा आवश्यक औषधि तथा अन्य सामाग्रीको व्यवस्थापन गरी सञ्चालन समेत गरी अहिले दुई वटा वर्थिड सेन्टर स्थानीय सरकारलाई हस्तान्तरण गरेका छौं ।

पाँच वर्षमा ६ नम्बर वडाको वर्थिड सेन्टरमा मात्रै ८५ जना गर्भवती महिला सुरक्षित प्रसुति भए । दुई जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रिफर ग¥यौं । समुदायस्तरदेखि प्रदेश तथा संघसम्म हामीले कस्ता नीतिहरु बन्न सकेमा समुदायस्तरमा प्रभावकारी हुन सक्छ भन्ने पैरवी पनि गरिरहेका छौं । सुरक्षित तरिकाले प्रसुति गराउनका लागि वर्थिङ सेन्टर स्थापना गर्न अति आवश्यक छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ