२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा नागरिक स्वास्थ्य परीक्षण वर्षका रुपमा मनाइने

कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण वर्षका रुपमा मनाइने

सुर्खेत अस्पताललाई प्रेषण अस्पतालका रुपमा विकास गरिने


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेका हुन् ।

परियारले प्रदेश सभामा पेश गरेको कार्यक्रममा स्वास्थ्य सेवाको लागि आवश्यक पूर्वाधार, जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापन गर्ने उल्लेख छ । रोग लागेपछि मात्र उपचार गर्ने प्रवृत्तिको अन्त्य गर्नका स्वास्थ्य प्रदायक संस्था, भौतिक पूर्वाधार, प्रविधि र आवश्यक जनशक्तिको प्रबन्ध गरेर रोगको उपचार र रोगको पूर्व रोकथाम प्रक्रियालाई प्राथमिकता दिइने उनले बताए ।

आर्थिक वर्ष २०८०/०८१ लाई नागरिक स्वास्थ्य परीक्षण वर्षका लिइने र यसका लागि स्थानीय र संघीय तहका अस्पताल तथा स्वास्थ्य संस्था र विकास साझेदारसमेतको सहकार्यमा नागरिकको स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रमा उल्लेख छ ।

यस्तै, २५ देखि ५० शैय्यासम्मका जिल्ला अस्पतालमा डायलाइसीस, दन्त चिकित्सा, फिजियोथेरापी प्रयोगशाला, आँखा उपचार केन्द्र, रक्तसञ्चारलगायतका विशेषज्ञ स्वास्थ्य सेवाका लागि आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन गर्दै टेलिमेडिसिनमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने प्रदेश प्रमुख परियारले बताए ।

प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरुलाई सूचना प्रविधिसँग जोड्नका लागि एकै प्रकारको अस्पताल सूचना प्रणाली जडान गरेर सेवा प्रवाहको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा छ । प्रदेश अस्पताल सुर्खेतमा मुटु, क्यान्सर, मिर्गौला, डायलाइसिस र युरोलोजी सेवा उपलब्ध गराई प्रेषण अस्पतालको रुपमा सेवा विस्तार गरिने नीति प्रदेश सरकारको छ ।

मिर्गौलाको डायलासिस सेवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी अस्पतालमा विस्तार गर्न आवश्यक व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा छ । ‘यो सेवालाई जिल्ला अस्पतालमा क्रमसः विस्तार गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै परियारले भने,‘संक्रामण रोगको रोकथाम, निगरानी, निदान, नियन्त्रण व्यवस्थापनका लागि आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारको विकास गरिनेछ ।’ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ