२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटमा औलो नियन्त्रण अभियानमा स्वास्थ्यकर्मी

कालिकोटमा औलो नियन्त्रण अभियानमा स्वास्थ्यकर्मी


वीरेन्द्रनगर—कालिकोट जिल्लामा औलो रोग (कालाजार रोग निवारण)का लागि गाउँमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । कालिकोटका पलाता, पचालझरना गाउँपालिका, खाँडाचक्र नगरपालिकामा औलो रोग देखिएका कारणले नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको हो ।

औलो रोगका बिरामी फेला पर्न थालेपछि रोग सार्ने भुसुना, लामखुट्टेलाई मार्नका लागि गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेर किटनाशक (विषादी) औषधि छर्किन सुरु भएको हो ।

प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्ने र गाउँमै पुगेर औषधि छर्किने काम भइरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सिनियर अहेब हेमराज वमले बताए ।

‘गर्मी हुने क्षेत्रमा यसको बढी प्रभाव रहने भएकाले वस्तीमै पुगेर सरसफाइका लागि पनि सचेतना फैलाउने काम भएको छ,’ उनले भने, ‘घर, आँगनतिर औषधि छर्केर सुरक्षित गराउने काम भइरहेको छ ।’

पहिलो चरणमा खाँडाचक्र नगरपालिका—१ र २ को तल्लो दलित वस्ती र त्यसलगतै पचालझरना गाउँपालिकाअन्तर्गतका वडा नं ४, ६, ८ र ९ का वस्तीमा अभियान थालिएको वमले जानकारी दिए ।

खाँडाचक्र नगरपालिका मलेरियाको प्रभावित क्षेत्र हो भने पचालझरना कालाजारको बढी क्षेत्र हो । गत वर्षको २८ जना बिरामीमा १४ जना बिरामी पचालझरनामा देखा परेका थिए । कालिकोटमा कालाजार यो वर्ष १७ जना छन भने मलेरियाका दुई जना नयाँ बिरामी देखिएका छन् ।

जलवायुको असरका कारणले समयमा पानी नपर्ने भएकाले विभिन्न संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटले स्वास्थ्य सचेतीकरणका कार्यक्रमलाई विशेष जोड दिएको छ ।

समयमा विशेष गरेर जनघत्व धेरै भएका गाउँ टोल र फोहोर मैला भएका वस्तीमा सरसफाइको अभियान चलाउनुपर्ने भएकाले स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापन डा. संकेत विश्वक्रर्माले बताए । गर्मी मौसममा कालाजार, मलेरिया अर्थात औलो रोग निदानका लागि किटनाशक औषधि र सरसफाइ अनिवार्य रहेको डा.विश्वकर्माले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ