२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशएन्टीबायोटिक औषधिको जथाभावी प्रयोगले मान्छेको रोग प्रतिरोधी क्षमतामा कमी

एन्टीबायोटिक औषधिको जथाभावी प्रयोगले मान्छेको रोग प्रतिरोधी क्षमतामा कमी


वीरेन्द्रनगर—एन्टीबायोटिक औषधिको अत्याधिक सेवनका कारणले मान्छेमा रोगको प्रतिरोधी क्षमतामा व्यापक मात्रामा कमी आउन थालेको छ । नेपालमा चिकित्सकको सुझाव बिना एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएका कारणले मान्छेको रोग प्रतिरोधी क्षमतामा कमी आएको विज्ञहरुले औल्याएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र युएसएआईडीको सहयोगमा कर्णालीका प्रदेशका संवाददातासँग एन्टीबायोटिक औषधिको प्रयोगबाट हुने प्रभावका विषयमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरुले एन्टीबायोटिक औषधिको जथाभावी सेवनका कारणले अहिले अनेकन स्वास्थ्य समस्या उत्पन्न भएको बताएका हुन् ।

स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएका कारण यसमा चिकित्सक, औषधि व्यवसायी, सरोकारवाला पक्ष र संचारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बताए । ‘अहिलेको अवस्थामा बढी औषधिको प्रयोगले समस्या निम्त्याएको हुन सक्छ,’ उनले भने, ‘यसमा चिकित्सक तथा स्वास्थ्यकर्मीसँगै समाजले सहज हुनैपर्छ ।’

एन्टीबायोटिक औषधिको प्रयोगले मान्छेमा रोग प्रतिरोधी क्षमतामा कमी आउन थालेको र यसले मृत्युदर पनि बढाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले बताए । ‘एन्टीबायोटिक औषधिको जथाभावी सेवन गर्ने प्रवृत्तिका कारणले औषधिले पनि काम गर्न बन्द गर्ने गरेको छ,’ उनले भने, ‘एन्टीबायोटिक औषधिलाई जथाभावी सेवन गरेका कारणले नेपालसहित विश्वमा नै मृत्युदरमा वृद्धि भएको छ ।’

पहिला विश्वमा एन्टीबायोटिक औषधि बनाउनमा वैज्ञानिकहरु लागेको र अहिले त्यो औषधिका कारणले विश्वमा स्वास्थ्य समस्या रुपमा रहेको युएसएआइडी एमट्याप्स कार्यक्रम नेपालका कन्ट्रि प्राेजेक्ट निर्देशक डा बिर्ना ट्र्याप बताइन् । ‘अहिले विश्वमा एन्टीबायोटिक औषधि प्रयोगले भयावह रुप लिएको छ,’ उनले भनिन्, ‘यो औषधि प्रयोगका विषयमा अबका दिनमा संसारले जान्न जरुरी छ कि एन्टीबायोटिक औषधि जथाभावी प्रयोग गर्न हुँदैन् ।’

चिकित्सकको सल्लाह बिना एन्टीबायोटिक औषधिका सेवन गर्दा विश्वमा वर्षेनी रुपमा १२ लाख २७ हजारको मृत्यु भइरहेको र विश्वका लागि साझा स्वास्थ्य समस्याको रुपमा एन्टीबायोटिक औषधिको प्रयोगका कारणले अनेकन स्वास्थ्य समस्या उत्पन्न हुने गरेको यूएसएआईडीका विज्ञ डा. सन्तोष दुलालले बताए । ‘सामान्य रुघाखोकीमा एन्टीबायोटिक औषधि खाने चलन छ,’ उनले भने, ‘एन्टीबायोटिक औषधि सेवन गर्नै परेको खण्डमा चिकित्सकको परामर्शमा औषधिको डोज पूरा लिन आवश्यक रहन्छ ।’

शिक्षा तथा जनचेतनाको अभावका कारणले सामान्य स्वास्थ्य समस्यामा पनि एन्टीबायोटिक औषधि सेवन गर्ने चलन रहेको र नेपालको सन्दर्भमा महिलाहरू बढी मात्रामा पीडित हुनु परेको यूएसएआईडीका चिकित्सक डा. विवेका श्रेष्ठले बताइन् । ‘पुरुषहरू पनि यसको असरबाट पीडित भएपनि महिला तुलनात्मक रुपमा बढी रहेका छन्,’ उनले भनिन्, ‘यसको बिक्री वितरण तथा सेवनमा रोक लगाउन आवश्यक छ ।’

समाजको ऐनाका रुपमा रहेका संचारकर्मीहरुले औषधि सेवनका विषय र अहिलेको एन्टीबायोटिक औषधि प्रयोगका विषयमा जानकारी राख्न जरुरी रहेको युएसएआईडीका अर्जुन अधिकारीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ