२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा गर्भवती महिलाका लागि आवास गृह सञ्चालन

जुम्लामा गर्भवती महिलाका लागि आवास गृह सञ्चालन


जुम्ला—जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लामा जटिल अवस्थामा भएका गर्भवती तथा सुत्केरी महिलाका लागि आवास गृह सञ्चालनमा ल्याएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुनु पूर्व जाँचका लागि आएका गर्भवती महिलामा जटिल खालको समस्या देखिएको अवस्थामा चिकित्सकको सल्लाहअनुसार बस्नका लागि आवास गृह सञ्चालनमा ल्याएको हो ।

जुम्लासहित छिमेकी जिल्ला कालिकोट, मुगु र डोल्पा जिल्लाका धेरैजसो गर्भवती महिला प्रतिष्ठानको प्रसूति गृहमा आउने गरेका छन् । जटिल अवस्थाका गर्भवती महिला र सुत्केरी भइसकेपछि पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका सुत्केरीलाई जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले आवासको व्यवस्था गरेको हो ।

मातृ र नवजात शिशुको मृत्युदर न्यूनीकरण गर्ने मुख्य उद्देश्यले जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गर्भवती आवासगृह सञ्चालनमा ल्याएको सुरक्षित मातृत्व कार्यक्रमका फोकलप्रर्सन मोर्चा शाहीले बताइन् । उनले भनिन्, ‘यसले गर्दा जटिल खालका गर्भवती महिलालाई निकै सजिलो हुनेछ ।’

हिमाली तथा पहाडी जिल्लाका गर्भवती महिला घरमै सुत्केरी हुने दर शून्यमा झार्ने लक्ष्यका साथ संघीय सरकारले यस्तो कार्यक्रम लागु गरेको हो । उनकाअनुसार अहिले चार वटा कोठा तत्कालका लागि भाडामा लिइएको छ । उनले थपिन्, ‘संघीय सरकारको पहिलो कार्यक्रम हो । यसको उद्देश्य संस्थागत सुत्केरी हुने दर बढाएर मातृ तथा नवजात शिशुको मृत्युदर न्यूनीकरण गर्ने हो ।’

यो पटक सामग्रीसहित खानाको व्यवस्थापन गरेको छ । अर्को आर्थिक वर्षमा कोठा भाडा र खाना खर्च मात्रै पठाउने देखिन्छ । उनका अनुसार यो कार्यक्रम लागु भएपछि होम डेलिभरी (घरमा सुत्केरी हुने) सुत्केरी महिलाको दर घट्ने देखिन्छ ।

यो कार्यले जटिल समस्या भएको सबै महिला गर्भ जाँचदेखि लिएर बच्चा जन्माउन स्वास्थ्य संस्थामा आउने देखिन्छ । उनीहरूलाई बस्ने आवासगृहमा तातो चिसो पानीको व्यवस्था, भान्सालगायत आधारभूत आवश्यकताका सामग्री राखिएको छ । ‘अब जटिल खालका समस्या भएका सुत्केरीले सेवा नपाएर ज्यान गुमाउनु पर्दैन,’ उनले भनिन् । सुत्केरी हुने क्रममा आमा, बच्चा अथवा दुवैको ज्यान जोखिममा पर्छ । यो कार्यक्रमले उनीहरूका लागि सहज हुनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ