२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटको तिलागुफा फैलिएको अज्ञात रोग इन्फ्लुएन्जा बी भाइरस भएको पुष्टि

कालिकोटको तिलागुफा फैलिएको अज्ञात रोग इन्फ्लुएन्जा बी भाइरस भएको पुष्टि


वीरेन्द्रनगर-कालिकोटको तिलागुफा नगरपालिका–१० रुडु गाउँमा फैलिएको अज्ञात रोग इन्फ्लुएन्जा बी भाइरस भएको पुष्टि भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा इन्फ्लुएन्जा बी भाइरस भएको पुष्टि भएको हो ।

कालिकोट तिलागुफा नगरपालिका–१० रुडु गाउँमा अज्ञात रोगका कारणले ३११ जना बिरामी परेका थिए ।

नौ जनाको रक्त समूह र १० जना स्वाव संकलन गरेर काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गर्दा इन्फ्लुएन्जा बी भाइरस पुष्टि भएको जनस्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.संकेत विश्वकर्माले बताए ।

‘१० जना स्वाव संकलन गरेर पठाएकोमध्ये चार जनाको परीक्षण रिपोर्टमा इन्फ्लुएन्जा बी भाइरस भएको पाइएको छ,’ उनले भने,‘ योे मौसमका कारणले हुने रोग हो ।’
असारको तेस्रो सातादेखि फैलिएको रोग अहिले नियन्त्रणमा आइसकेको जनस्वास्थ्य कार्यालय कालिकोटका मेडिकल अधिकृत डा. रामानन्द चौधरीले बताए । ‘हामी त्यहाँ आफै पुगेर बिरामीको औषधी उपचार गरेका थियौं,’ उनले भने,‘ अहिले रोग नियन्त्रणमा आइसकेको छ ।’

ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको रोग गाउँमा नै देखिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ