२०८१ असोज २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपालिकाको स्टोर भरी औषधी दुर्गमका स्वास्थ्य संस्थामा जीवनजल पनि अभाव

पालिकाको स्टोर भरी औषधी दुर्गमका स्वास्थ्य संस्थामा जीवनजल पनि अभाव


जुम्ला—तिला गाउँपालिकाको दुर्गम भेगमा पर्ने जुम्लाकोट, राँसा मालापानी, ढिपु, घोडेमहादेव, पोख्री, रिपी, सुडी गाउँ पर्दछन् । संघीयतापछि यिनै क्षेत्रमा सडक काटिएपनि सवारी साधन सञ्चालन छैन ।

सडकको ट्रयाक मात्रै खोलिएका छन् । यिनै दुर्गम क्षेत्रका बिरामीलाई उपचारका लागि सदरमुकाम खलंगाको अस्पतालमा लैजान पनि सहज छैन । दुर्गम भेगमा भएका स्वास्थ्य संस्थामा पर्याप्त औषधी नहुँदा उपचारबाट बञ्चित हुने गरेका छन् ।

साउन भदौँको बर्खा सिजनमा पानी धमिलो हुने र त्यही पानी मानिसले खाने भएका करण स्वास्थ्य संस्थामा झाडा पखालाका बिरामी बढी आउँछन् । तर दुर्गमका स्वास्थ्य संस्थामा जीवनजलसमेतको अभाव छ ।

तिला गाउँपालिका–८ जुम्लाकोटस्थित स्वास्थ्य चौकीमा एक सातादेखि जीवनजल अभाव रहेको जनाएको छ । स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसीका अनुसार यतिबेला झाँडापखालाको सिजन हो तर स्वास्थ्य संस्थामा जीवनजलसहित बच्चाको झोल, सिटामोलसमेत अभाव छ ।

साउन महिनामा मात्रै ३१५ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । दैनिक २५/३० जना बिरामी स्वास्थ्य संस्थामा सेवा लिन आउने गरेको इन्चार्ज जिसीले बताए । यो स्वास्थ्य संस्थामा प्रसुति गृह पनि छ । प्रसुति गृह भएका कारण २४ सै घण्टा पानी, बिजुलीको आवश्यक पर्दछ ।

‘गत वर्ष यिनै समस्या समाधान गर्नका लागि सोलार प्रणाली जडान, खानेपानीको धारा जडान र घेरबारका लागि ४ लाख बजेट विनियोजन भएको थियो,’ जिसीले भने, ‘यहाँका स्थानीयले उपभोक्ता समितिमार्फत काम गर्ने तयारी गरेका थिए । तर, सोलार प्रणालीजस्ता सामग्री उपभोक्तामार्फत खरिद गर्न नमिल्ने भएपछि ४ लाख रकम फ्रिज गयो ।’

यस्तै, सोही गाउँपालिका–९ राँसामालापानीस्थित स्वास्थ्य चौकीमा पनि जीवनजललगायत अत्यआवश्यक औषधी अभाव रहेको छ । स्वास्थ्य चौकी इन्चार्ज हर्क रावतका अनुसार जनस्वास्थ्य कार्यालयबाट आएको औषधी स्वास्थ्य संस्थामा पुग्ने गरेको छ । गाउँपालिकाले तीन महिनादेखि औषधी स्वास्थ्य संस्थामा पठाएको छ । ‘औषधी अपर्याप्त नै हुन्छ । बिरामी आउँछन् तर स्वास्थ्य संस्थामा औषधी हुँदैन्,’ उनले भने, ‘बिरामी दैनिक स्वास्थ्य संस्थामा १५/२० जना आउने गर्दछन् ।’

तत्कालीन तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेश शाहीले संयोजकको जिम्मेवारी सम्हाल्न नसकिने भएको भन्दै १८ असारमा निवेदन दिएका छन् । उनले भने, ‘अब जागिर अवधि ६ महिना मात्रै बाँकी रहेको र उमेरका कारणले पनि धेरै काम गर्न नसकिने भएकोले संयोजकको जिम्मेवारी नलिन निवेदन दिएको हुँ ।’

गाउँपालिकाको स्वास्थ्य शाखा स्टोरमा जीवनजलसहित अन्य औषधी पर्याप्त छ । उनले भने, ‘स्वास्थ्य चौकीले नलिएर अभाव भएको होला । ५ भदौंसम्म कर्मचारीको नियमित बैठक हुन्छ । त्यतिबेला कहाँ—कहाँ अभाव छ । अभाव भएको ठाउँमा पठाउने छौं ।’

शाहीले काम गर्ने नगर्ने भनेर निवेदन दिएपछि गाउँपालिकाको स्वास्थ्य शाखा नेतृत्वविहिन जस्तो भएको छ । यसले गर्दा स्वास्थ्यकर्मी खटनपटनदेखि स्वास्थ्य संस्थामा औषधी व्यवस्थापनसम्म असर परेको देखिन्छ ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार एक हप्ता अघिमात्रै पालिकामा रहेको औषधप्को स्टोर अनुगमन गरिएको थियो । ‘स्टोरमा औषधी पर्याप्त छ । भर्खर मात्रै १२ लाख बराबरको औषधी स्टोरमा पुगेको छ,’ बुढाले भनिन्, ‘स्टोरमा भएको औषधी स्वास्थ्य चौकीमा नपुगेको होला । तत्काल औषधी स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गर्छौ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ