२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मेरुदण्डको विशेषज्ञ चिकित्सक टोली पुगेको छ । धरानदेखि विर्तामोडसम्मका १४ जना चिकित्सकको टोली प्रतिष्ठानमा पुगेको हो ।

एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा. विमलकुमार पाण्डेले टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुलाई मेरुदण्डको उपचार बारे सहजीकरण गरेको छ । ‘कर्णालीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । मेरुदण्डका बिरामीहरु यस क्षेत्रमा धेरै छन्,’ पूर्वअध्यक्ष डा.पाण्डेले भने, ‘तर, यातायातको समस्याले अस्पतालसम्म बिरामी लैजान कठिन छ । मेरुदण्डको घरदैलो सेवा र अस्पतालमा उच्चस्तरीय सेवा सञ्चालनका लागि टोलीले छलफल गरेको छ ।’

उनले जटिल प्रकारको मेरुदण्डको उपचार जुम्लामै होस भन्ने आफूहरुको चाहना रहेको बताए । ‘जसका लागि विशेषज्ञ चिकित्सकलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको आवश्यक हुन्छ,’ उनले भने । टोलीले एक दिन भएपनि ज्ञान आदान—प्रदान गरेर विशेषज्ञहरुको क्षमता विकासमा सहयोग गरेको उनको भनाइ छ ।

डा. पाण्डेकाअनुसार विहान सैद्धान्तिक कक्षा लिएर दिउँसो व्यवहारिक अभ्यास गरेर जुम्लामा कार्यरत विशेषज्ञ चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको छ । पहिलो चरणमा मेरुदण्डको चोटपटक लागेकाहरुलाई गर्ने उपचार र क्षयरोगको संक्रमण सम्बन्धिको उपचार बारेमा जानकारी दिइएको छ ।

टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ र एमबीबीएस डाक्टरहरु गरेर ३० जनासँग मेरुदण्डको रोग र उपचारका बारेमा छलफल गरेको अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । उनीहरुलाई स्पाइन क्याडाभेरिक कोर्स पनि पढाइएको हो ।

उनकाअनुसार एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा. पाण्डेको नेतृत्वमा टोली जुम्ला पुगेको हो । टोलीमा उपाध्यक्ष डा. व्यापक पौडेल, महासचिव डा. सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा.गौरव ढकाललगायत चिकित्सक छन् ।

एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालको सहकार्यमा मुलुकभित्र र विदेशमा पनि मेरुदण्डको उपचारबारे तालिम गर्न विशेषज्ञहरुलाई अवसर प्रदान गर्ने निर्देशक डा. रोकायाले बताए । उनका अनुसार प्रतिष्ठानको आवश्यकताअनुसार मेरुदण्डको उपचारको बारेमा तालिमको लागि टोलीले सघाउने छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार २० जना मेरुदण्डको जटिल समस्या भएका बिरामीहरु अन्य अस्पताल रेफर भएका छन् । ‘अहिलेसम्म मेरुदण्डको उपचार सेवा प्रदान भइरहेको छ,’ निर्देशक डा. रोकायाले भने, ‘टोलीसँगको छलफलले झनै प्रभावकारी सेवा प्रदान गर्ने ऊर्जा मिलेको छ ।’

कर्णालीमा भीरबाट लड्ने, सवारी साधनको दुर्घटनामा परेर मेरुदण्डमा चोट पटक लाग्ने बिरामीहरु धेरै आउने गरेका छन् । टोलीले कर्णाली प्रतिष्ठानमा सञ्चालित मेरुदण्डको उपचार सेवा,बिरामीहरुको अवस्था र विशेषज्ञ चिकित्सकहरुले गरिरहेको कामको अनुभवसमेत सुनेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ