२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपानी र विजुली अभावका कारण सञ्चालनमा आएन स्वास्थ्य चौकी

पानी र विजुली अभावका कारण सञ्चालनमा आएन स्वास्थ्य चौकी


वीरेन्द्रनगर—एक वर्षअघि निर्माण सम्पन्न भएको दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ मा रहेको लयाटी विन्द्रासैनी स्वास्थ्य चौकी प्रयोगविहिन अवस्थामा छ । पानी र बत्तीको सुविधा नभएको भन्दै स्वास्थ्य चौकी अझै नयाँ भवनमा सर्न सकेको छैन ।

नेपाल सरकारको मापदण्डअनुसार निर्माण भएको उक्त भवन २०७५ सालमै निर्माण सम्पन्न भएपनि हालसम्म प्रयोगमा आउन सकेको छैन । संघीय सहरी विकास तथा भवन निर्माण कार्यान्वयन इकाई सुर्खेतले निर्माण गरेको उक्त भवन २०७५ पुस १९ गते नै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । १९ कोठा भएको उक्त भवन स्वास्थ्य चौकीले सञ्चालनमा ल्याएको छैन ।

भवनमा एउटा तालिम हल, दुई वटा कर्मचारी बस्नका लागि कोठासहित १९ कोठा छन् । तर, नयाँ भवन सञ्चालनमा नआउँदा पूरानै सात कोठे भवनबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ । भ्याटसहित दुई करोड आठ लाख ८६ हजार ७५ रुपैयाँको लगानीमा स्वास्थ्य चौकीको सबै काम सम्पन्न गरी हस्तान्तरण गरिसकेको ठेकेदार अंगत शाहीले बताए । ‘निर्माण सम्पन्न भएको भवन सञ्चालनमा नआउँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन्,’ उनले भने, ‘मापदण्डअनुसार भवन बनेर मैले त स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिसकेको हो ।’

नयाँ भवन सञ्चालनमा आएको अवस्थामा सेवाग्राहीले छिटो छरितो सेवा लिन सिक्ने स्थानीय बताउँछन् । स्थानिय सुवाखर शर्माले भने, ‘नयाँ भवन बन्न नै समय लाग्यो । एक वर्षभित्र बन्नुपर्ने भवन ३ वर्षपछि बनेको हो । तर, पनि सञ्चालनमा कसैको ध्यान जान सकेको छैन ।’

लयाटी बिन्द्रासैनी स्वास्थ्य चौकीका प्रमुख हिक्मत भण्डारीका अनुसार पानी र विजुलीको अभावका कारण लामो समयदेखि स्वास्थ्य चौकीको नयाँ भवन सञ्चालनमा आउन नसकेको हो । ‘पानी र बिजुली यहाँका प्रमुख समस्या हुन्,’ उनले भने, ‘सरसफाइका लागि पानी एकदमै धेरै चाहिन्छ । आधा घण्टा तलबाट बोकेर ल्याएको पानीले त्यो सब गर्न सकिदंैन । खडेरीको समयमा त त्यो पनि पाउन मुस्किल पर्छ ।’ नयाँ भवन टायल मार्वलबाट बनेको र पूरानो भवन सामान्य ढलान भएकाले नयाँ भन्दा पुरानोमा कम पानी आवश्यक पर्ने भएकाले पूरानैबाट सेवा सञ्चालन भइरहेको भण्डारीको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ