२०८२ भदौ २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’

आईसीयु विथ अक्सिजन सपोर्टबाट फर्किएका डा. कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल मैले कल्पना गरेभन्दा बाहिरको रहेछ’


काठमाडौं—कोरोना संक्रमण पोजेटिभ देखिएपछि डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य समस्या बढ्दैं गएपछि अघिल्लो शनिबार हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको थियो ।

शिक्षण अस्पतालमा उपचार क्रममा स्वास्थ्य झन जटिल बन्दैं गएपछि उनलाई आईसीयु विथ अक्सिजन सपोर्टमा  राखेर उपचार सुरु गरिएको थियो । कोरोना संक्रमणले झन गम्भीर बनाउँदैं लगेपछि अक्सिजन लिन सक्ने क्षमता पनि कम हुँदैं गएको थियो । उपचारमा संलग्न चिकित्सककाअनुसार अक्सिजन लिने क्षमतामा ९० प्रतिशतले ह्रास आइसकेको थियो ।

शिक्षणका चिकित्सकहरुले गत शुक्रबार २६ वर्षीय कोरोना संक्रमणबाट निको भएका एक युवकको प्लाज्मा लिएर डा. कार्कीलाई दिएका थिए । ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’ गरिएपछि तीन दिनमा उनी आईसीयु विथ अक्सिजन सपोर्टबाट सामान्य वार्डमा फर्किएका छन् । वार्डमा फर्किएपछि हेल्थआवाजसँग उनले आफ्नो सन्देश सबैमाझ पु¥याइदिन आग्रह गरे । उनले दिएको सन्देशलाई हेल्थआवाजले जस्ताको तस्तै प्रस्तुत गरेको छ ।

त्रिवि शिक्षण अस्पताल मेरो कल्पनाबाहिरको रहेछ

हाम्रो देशमा स्वदेशका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई अविश्वास गर्ने चलन छ । आजै म यो भन्न चाहन्छु, यो सोचाइलाई हामी तत्काल बदलौं । अझ सरकारी स्वास्थ्य संस्था त गन्दैनौं । तर, मैले यहाँ (त्रिवि शिक्षण अस्पताल) आएपछि थाहा पाए, यहाँ के मात्रै रहेनछ ।

पछिल्लो युवापुस्ता अति अब्बल छ । यो पुस्तालाई कसरी विदेश पलायन हुनबाट रोक्ने राज्यले अब गम्भीरतापूर्वक सोच्ने बेला भएको छ । उहाँहरुको डेडिकेसन पनि उतिकै सुन्दर छ । मैले यहाँ आएपछि धेरै नयाँ कुरा अनुभूत गर्ने अवसर पाए । अब मेरो बाँकी जीवन समाजसेवामै बित्नेछ । मेरा सबै उद्देश्य सामाजिक हुनेछन् ।

त्रिवि शिक्षण अस्पताल यस्तो व्यवस्थित होला भन्ने मैले कल्पना गरेको थिइन् । तर, आफै बिरामी भएपछि सबै देखे, भोगे । सरकारले यति सुविधासम्पन्न बनाएको देखेपछि म निकै भावुक भए । स्रोत साधन सरकारले सबै पु¥याइदिएको छ । यो मैले सोचेकै थिइन । मलाई डा. सुवास आचार्य, डा. पनेरुसहितका अन्य धेरै युवा चिकित्सक, नर्सलगायत सम्पूर्ण टिम (अहिले सबैलाई नाम लिएर सम्बोधन गर्न सकिन्) ले निकै केयर गर्नुभयो । उहाँहरुको ऋण कहिले र कसरी तिर्नु सक्छु मलाई थाहा छैन् ।

मैले यहाँ आएपछि थाहा पाए, हाम्रा युवा चिकित्सक एकदमै क्षमतावान र उर्जाशील रहेछन् । उनीहरुले नजानेको केही रहेनछ । चिकित्सक सबै जवान र ज्ञानी छन् । उनीहरु पलायन नहुन, रिटेन कसरी गर्ने भन्नेमा सोचौं । उनीहरुलाई थप राम्रो अवसर दिऔं र यही रोकौं । अब आजैका दिनदेखि हामीले त्यसका लागि योजना बनाउ । सरकारले कोरोनाको उपचारका खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई कसरी प्रोत्साहन गर्ने त्यो योजना बनाएर तत्काल लागु गर्नुपर्छ ।

कोरोना विरुद्ध एक भएर लडौं

सबै तिरको कोरोनाको प्यानिक मात्रै थियो । हामी सबैमा पनि त्यसको प्रभाव रहेछ । म बिरामीको सेवामा वर्षौ खटिएको छु । म कहिल्यै राम्ररी सुतेको थिइन् ।

अब कोरोनालाई प्यानिक नबनाऔं । कोरोनाबाट मान्छे मरे भनेर संख्या मात्र नसुनाऔं । यस विरुद्ध अब यो सरकारी, यो निजी नभनेर मिलेर काम गरौं । नाका तत्काल पूर्ण रुपमा सिल गरौं । परीक्षण दायरा बढाऔं । जनतामा जनचेतना फैलाऔं । सत्ताका लागि यो बेला लडेर नबसौं ।

हामीसँग कोरोना विरुद्ध लड्ने युवा जनशक्ति मैदानमा खटिरहेको छ । उनीहरुको मनोबल सबै मिलेर बढाऔं । आवश्यक जनशक्ति तत्काल पूर्ति गरौं । १० हजार नर्स भर्ना गरौं, त्यही संख्यामा चिकित्सकको दरबन्दी खडा गरेर भर्ना गरौं । यो गर्न सकेमा हामी संसारमा कोरोना विरुद्धको लडाइमा नेपाललाई नमुना बनाउन सक्छौं । सबै कामलाई थाँती राखेर कोरोना विरुद्ध एक जुट भएर लडौं, जित हाम्रो हुनेछ ।

भगवानको कृपाले काठमाडौं आए

६० वर्षको उमेर । अलिकलि डाइबटिज, थोरै प्रेसर । कोरोनाकालभरि बिरामीकै उपचारमा खटिए । कहिल्यै पनि रेष्ट भनिन्, एक दिन पनि छुट्टी लिइन् । दैनिक हजार हाराहारीमा बिरामी हेरियो ।

थाहै नपाइकन कोरोना संक्रमण हुन पुगेछ । कोरोना पोजेटिभ देखिएपछि धरान गए । त्यहाँबाट भगवानको कृपाले काठमाडौं आए । सबैको प्रयासले अहिले निको हुने क्रममा छु ।

* यसअघि आईसीयु विद अक्सिजन सपोर्ट हुनुपर्नेमा अन्याथा भएकाले सच्चाइएको छ । सं.

यो पनि पढ्नुस 

कोरोना संक्रमितको नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट सफल उपचार


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ