२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछानविन प्रतिवेदन र काउन्सिलको निर्णय सरकारी अस्पताल डुबाउने षड्यन्त्रः डा. कोइराला

छानविन प्रतिवेदन र काउन्सिलको निर्णय सरकारी अस्पताल डुबाउने षड्यन्त्रः डा. कोइराला


काठमाडौँ । शहिद गंगालाल हृदय रोग केन्द्रमा फरक रगत समूह चढाएका कारण मृत्यु भएको भनिएकी बालिकाको विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाहीको लागि गरेको सिफारिसप्रति केन्द्रका एक बरिष्ठ चिकित्सकले आपत्ति जनाएका छन् ।

केन्द्रका वरिष्ठ चिकित्सक डा. रामेश कोइरालाले सामाजिक संजाल ट्विटरमा सो घटनामा जुनियर स्वास्थ्यकर्मीलाई दोष देखाएर सरकारी अस्पताल डुबाउँने षड्यन्त्र गरेको आरोप लगाएका छन् । बालिका मृत्यु भएको घटनाको विषयमा  मेडिकल काउन्सिलले केन्द्रका पूर्व निर्देशक डा. भगवान कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिले दिएको प्रतिवेदनका आधारमा काउन्सिलले अस्पतालका तीन चिकित्सकलाई ७ दिने स्पष्टिकरण र दुई ल्याव टेक्निसियनलाई हदै सम्मको कारवाही गर्न स्वास्थ्य व्यवसायी परिषदलाई सिफारिस गरेको थियो । निर्देशकसहित अन्य विभागीय चिकित्सकहरुलाई भने नैतिक जिम्मेवारीको प्रश्न उठाएको थियो ।

काउन्सिलको निर्णयलाई मात्र नभएर छानबिन समितिको प्रतिवेदनप्रति समेत उनले आपत्ती जनाएका छन् । ट्विटमा उनले फेरी छानबिन गर्नुपर्ने धारणा राखेका छन् । ‘दुःखद ! स्याम्पिलिङ इरर, पीएसीलगायत समग्र सिस्टमको नाकामीले भएको भवितव्यमा फर्म भर्ने र सम्बन्धन नै नभएका जुनियर डाक्टर र स्वास्थ्यकर्मी दोषी देखिए । गलत रगत पनि यदाकदा म्याच हुन सक्छ भन्ने अन्तर्राष्ट्रि प्रमाणहरुलाई नजरअन्दाज गर्दै सरकारी अस्पताल डुबाउने षडयन्त्र ? फेरी छानबिन होस । ’ उनले ट्विट गरेका छन् ।

आइतबार सो केन्द्रका निर्देशक डा. ज्योतेन्द्र शर्माको कार्यकाल सकिएको छ । आगामी कार्यकालका लागि सम्भाबित निर्देशकका रुपमा हेरिएका डा. कोइलालाको यस्तो सार्वजनिक अभिव्यक्तिलाई अधिकारीहरुले गंभिर चासोका रुपमा लिएका छन् ।

डा. कोइरालाले लगाएको आरोपका विषयमा नेपाल मेडिकल काउन्सिलका रेजिष्ट्रार डा. दिलीप शर्मा छानविन समितिको सिफारीसका आधारमा काउन्सिलको पूर्ण वैठकले गरेको निर्णय अनुसार नै कारवाही हुने बताउँछन । ‘काउन्सिलले आफुले गठन गरेको छानविन समितिले जुन रिपोर्ट दिएको छ त्यसको आसय अनुसार स्पष्टिकरण मागेको छ,’ उनले भने, ‘काउन्सिलको पूर्ण वैठकले जति सजाय गर्न त्यो सबैले मान्नुपर्छ ।’

मुटुको शल्यक्रिया गर्ने क्रममा गत वैशाखमा गलत समूहको रगत चढाउँदा ५ वर्षीया बालिका आकृतिकुमारी साहको मृत्यु भएको थियो । बालिकाको रगत समूह ओ पोजेटिभ भएपनि चढाइएको रगत ए पोजेटिभ पर्न गएको थियो । जसका कारण बालिकाको मृगौला खराब भएर मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ