२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशल्यक्रियामा संलग्न डाक्टर भन्छन्, ‘एकै पटक पाँच शिशु निकाल्दा डर लाग्यो’

शल्यक्रियामा संलग्न डाक्टर भन्छन्, ‘एकै पटक पाँच शिशु निकाल्दा डर लाग्यो’

पिता भन्छन्, ‘एकै पटक चार लक्ष्मी भित्रिदा खुसी छु’


काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुति गृहमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले शल्यक्रियामार्फत ५ वटा शिशु जन्माइन् । सोमबार शल्यक्रियामार्फत जन्मिएका ५ शिशुमध्ये एक जनाको गर्भमै मृत्यु भएको थियो ।

शल्यक्रियामार्फत शिशुहरु जन्माउनुअघि उनको गर्भमा चार वटा मात्रै शिशु रहेको मेडिकल परीक्षणहरुले देखाएका थिए । जसमध्ये एउटाको तीन हप्ताअघि नै मृत्यु भएको थियो । एक मृतसहित चार वटा शिशु गर्भमा रहेकी सोमिकाको शल्यक्रिया गर्ने टिमको नेतृत्व गर्ने जिम्मेवारी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीले पाए । त्यतिबेलासम्म शल्यक्रिया गर्ने टिमलाई समेत उनको गर्भमा पाँच वटा शिशु छन् भन्ने थाहा थिएन ।

सुरुमा चार वटा शिशु निकाल्ने जिम्मेवारी आफूमाथि आइपर्दा अलि डर लागेको डा. सुवेदीले बताए । मंगलबार हेल्थआवाजसँगको भिडियो कुराकानीमा डा. सुवेदीले भने, ‘चार शिशु गर्भमा रहेकी गर्भवतीको आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्था आयो । त्यसको जिम्मेवारी आफैले निर्वाह गर्नुपर्दा अलिकति डर लागेको थियो । शल्यक्रियाका क्रममा पाँच वटा शिशु रहेको पाइयो । तर, शल्यक्रिया सफल भएपछि भने अहिले खुसी छु ।’

शल्यक्रियामार्फत ४ वटा जीवित शिशुका बुवा बनेका हरिकुमार तामाङले एकै पटक घरमा चार वटा लक्ष्मी भित्रिदा खुशी लागेको बताए । ‘मेरी श्रीमतीको गर्भमा चार वटा शिशु छन भन्ने कुरा पहिले नै थाहा थियो,’ उनले भने, ‘पाँच वटा छन भन्ने शल्यक्रियापछि मात्रै थाहा भयो । तर, एकै पटक चार वटा लक्ष्मी घरमा भित्रिदा म निकै खुसी छु ।’

अहिले सोमिका र उनका तीन वटा शिशुको स्वास्थ्य सामान्य छ । एक जना शिशुको श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई एनआईसीयुमा राखेर अक्सिजन दिइएको बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले जानकारी दिइन् ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ