×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्यऊ बेलाको दशैँ अहिले सपना जस्तै लाग्छ

ऊ बेलाको दशैँ अहिले सपना जस्तै लाग्छ


यसपाली ७३ औं दशैँ मनाउँदै छु । मेरो मानसपटलमा रहेको दशैँ साँच्चै लोभ लाग्दो छ । बाल्यकालमा दशैँ आएपछिको रौनकताले छोपेको त्यो पल त झनै कहाँ भुल्न सकुँला र ! रिजाल परिवार । एकदमै ठूलो परिवार । मेरा बुबाकै ८ दाजुभाई । यिनीहरु सबै भेला हुँदा त आहा ! त्यो बेलाको दशैँ । मेरो हजुरबुबा ध्रुवलाल रिजालको नेतृत्वमा हुने नवरात्रको हरेक दिनको पूजा सबैजना मिलेर गरिन्थ्यो । कसले के गर्ने भन्ने जिम्मेवारी तोकिन्थ्यो । जसले एकआपसमा मिलेर काम गर्नुपर्छ भन्ने सन्देश दिन्थ्यो ।

हामी केटाकेटीहरु कसको घरमा के हुँदैछ भनेर डुल्थ्यौं । अझै बुबाआमाले नयाँ कपडा किनिदिएपछि त त्यो देखाउन दौडिँदाको मज्जा त कहिल्यै भुलिँदैन । नयाँ लुगा लगायो, खायोपियो, पीङ खेल्यो, साथीभाईसँग रमाइलो गर्दै दशैँ गएको पत्तै हुँदैनथ्यो । दशैँको टिकाको दिन हजुरबुबाले सबैजनालाई मर्यादाअनुसार टिका लगाइदिनुहुन्थ्यो । त्यसपछि कोही मावली जान्थे भने कोही आफन्तजनकहाँ टिका लगाउन हिड्थे । मेरो भने मामाहरु नभएकाले मामाघर जादिनथेँ । त्यसैले, सबैजना मामाघर गएको देख्दा नरमाइलो लाग्थ्यो । अझै अरुका मामाहरुले दशैको बेला किनिदिएको कपडा देख्दा मेरो मन कुँडिन्थ्यो । तर कपडा लगाउन भने खाँचो हुँदैनथ्यो । दशैँको टिका र आशिर्वाद थाप्नका लागि सकेसम्म कोही आफन्त छुटाइँदैनथ्यो । त्यसैले, सबैको सबैजनासँग चिनजान हुन्थ्यो । तर अहिले त जान नपरेहुन्थ्यो भन्ने लाग्छ । सबैको घरमा जाँदा अघिल्लो पुस्ता र पछिल्लो पुस्ताकोबीचमा चिनजान हुन्थ्यो । तर अहिले चिनजान नै छैन । त्यसैले, ऊ बेलाको दशैँ सम्झँदा सपना जस्तो लाग्छ ।

सन् १९६२ मा अध्ययनका लागि बनारस गए । त्यहाँ दशैँको बेला हामीलाई बिदा दिइन्थ्यो । लामो समयपछि दशैँमा घर आउँदा बेग्लै रमाइलो हुन्थ्यो । तर पछि १९६६ मा एमबीबीएस अध्ययन गर्न पाकिस्तान गएपछि भने दशैँमा घर आउन पाइदैन थियो । त्यसैले यो बेला घरको सम्झना निकै आउँथ्यो । तैपनि हामीहरु पाकिस्तानमा दशैँको बेला सबै साथीभाईहरु जम्मा हुने, रमाइलो गर्ने, पिकनिक जाने, भोज गर्ने गथ्र्यौँ । साथै टिकाको दिन राजदुतको हातको टीका थाप्थ्यौं ।

हामीले त्यहाँ नेपाल विद्यार्थी संगठन खोलेका थियौं । त्यसैले हरेक चाडपर्वमा हामी भेला हुन्थ्यौं । यसरी करिब ६ वर्षको दशैँ परिवारभन्दा अलग भएर मनाइयो ।

एमबीबीएस अध्ययन पुरा गरेसँगै म माथि जिम्मेवारी पनि थपिँदै गए । बाल्यकालको जस्तो दशैँको रौनकता पनि नहुँदो रहेछ । तैपनि आफ्नो परिवारसँग रमाउँदै दशैँ मनाउँदै आएको छु । यतिबेला विश्व नै कोभिड–१९ को महामारीमा फसेको छ । नेपालमा पनि महामारीको सामना गरिरहेको छ । अझै राजधानीमा त कोरोनाको संक्रमण थामिनसक्नु छ । त्यसैले, यसवर्षको दशैँ-तिहार जस्ता चाडपर्वलाई घरमै बसेर परिवारसँग रमाउँदै मनाउने सोचमा छु ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस