नेपालमा गत बैशाखमा कोरोना भाइरस (कोभिड–१९) का कारण सिन्धुपाल्चोककी सुत्केरी महिला र नेपालगन्जका १५ वर्षिय युवकको मृत्युपछि आम मानिसमा एकाएक डर, त्रास र अन्योलको अवस्था सिर्जना भयो ।
जेठको पहिलो साता तेस्रो संक्रमितको निधन भयो । उनी गुल्मी जिल्ला मदाने गाउँपालिकाका शिक्षक थिए । हाल म त्यही जिल्लामा कार्यरत छु । त्यसपछि गुल्मीमा डरको ग्राफ उकालो लाग्यो । कोरोनाबारे मानिसहरु अनेक अड्कल काट्थे । कोभिड–१९ बारेमा मानिसहरुमा पर्याप्त जानकारी थिएन । जसले जे सुनेको छ त्यही बोल्थे । तथ्यभन्दा अफवाहले माहोल सन्त्रास बनाएको थियो ।
जिल्लाभित्र कोरोना संक्रमितको निधनले हामी स्वास्थ्यकर्मीमाथि थप जिम्मेवारी थपियो । आवश्यक समन्वयपछि कन्ट्राक्ट ट्रेसिङको काम सुरु भयो । तर, सबैमा डर थियो । स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकाले गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याको टीमसहित म स्वाब संकलनका लागि मृतकको गाँउतिर लाग्यौँ । हामी आत्मविश्वास र जिम्मेवारी बोधका साथ काममा खटिएका थियौं ।
तर, मनको कुनामा कतै आफूपनि संक्रमित भइने त होइन भन्ने डर जीवित थियो । अझै घर परिवारले लिने पीर, तनावको त कुरै नगरौं । अस्पतालका सहकर्मीहरु पनि डराइरहेको स्थिति थियो । अझ भनौं उपचार, परीक्षण लगायतमा काममा देशभरका स्वास्थ्यकर्मीको स्थिति प्रायः एउटै थियो ।
हामीले मदाने गाँउपालिकाको सो ठाउँबाट गरिएको स्वाबको नतिजा केही समयपछि आयो । जसमा रिपोर्ट पोजेटिभ आयो । जसले जिल्लामा फेरी त्रासको वातावरण सिर्जना गर्याे । संक्रमित व्यक्तिलाई सो ठाउँबाट राती नै हाल कोभिड–१९ परीक्षण गर्ने ल्याब, साविकको आइसोलेसनमा ल्याइयो । त्यतिबेलासम्म मेरो मोवाइलमा सयौं कलहरु आए । कारण मैले स्वाब संकलन गरेको व्यक्तिको रिपोर्ट पोजेटिभ आएको थियो ।
यसपछि मेरो घरपरिवारले गरेको पीर, देखाउनुभएको मायाले म आफैलाई केही डर त लाग्यो तर आत्मविश्वास दह्रो बनाएँ । मनोबल उच्च पारें । पेशागत दायित्वलाई सम्झिएँ । घरमा भर्खरै जन्मिएको छोराबाट आइसोलेट भएर म छुट्टै बस्न थाले । श्रीमती मुनाले त्यतिबेला मलाई हरतरहले सहयोग गरिन् ।
उनी डराउथिन् तैपनि मैले कन्भिन्स गर्थे । त्यसपछि उनी मलाई काममा प्रेरणा भर्थिन् । छोरासँग देखादेख मात्रै हुन्थ्यो । घरबाट बुबाआमा उत्तिकै पीर लिनुहुन्थ्यो । बरु जागिरै नगर भन्नेसम्मको कुरा गर्नुहुन्थ्यो । म उहाँहरुलाई मेरो पेसा र जिम्मेवारी यस्तै भएकोले पीर नलिनुस् भन्दै सम्झाउथें । तैपनि बुबा आमाको सन्तानप्रतिको माया न हो उहाँहरु मनले नमानेपनि मेरो आत्मविश्वासप्रति भने सहमत हुनुहुन्थो । परिवारको मायाले झनै सर्तकताका साथ काम गर्न उर्जा मिल्थ्यो ।
सरकारको गाइडलाइनमा कन्ट्राक्ट ट्रेसिङलाई प्राथमिकतामा राखिएको थियो । त्यसैले सुरुवाती चरणमा म गुल्मीका प्रायः सबै ठाउँमा गई स्वाब संकलन गरें । त्यतिबेला जिल्लामा म मात्रै तालिमप्राप्त भएकाले मैले अन्य पालिका र आफ्नै अस्पतालका कर्मचारीलाई प्रशिक्षित गर्दे आइरहेको थिएँ ।
सुरुसुरुमा म आफै सबै ठाउँमा पुग्नुपर्ने बाध्यता बिस्तारै हट्दै गयो । नभए अनिदों रहेर २४ सै घण्टा काममा खटेको सम्झना अझै ताजा छ । खासमा स्वाब संकलन मात्रै सुनिएपनि त्यसपछिका आफ्नै काम अझै धेरै हुन्छन् । स्वाबको पहिचानका लागि फरक–फरक फर्मको उचित व्यवस्थापन गर्नुपथ्र्याे । केही तलमाथि भए यसले झन् खराब परिस्थितिको सिर्जना गथ्र्याे । तसर्थ, यसमा हामी निकै सजक बन्नु पथ्र्यो ।
देशभरमा स्वाबको चाप बढी हुन थालेपछि कोभिड परीक्षणको रिपोर्ट निकै ढिलो गरी आउन थाल्यो । त्यसैलाई मध्यनजर गर्दे गुल्मीमा पनि कोभिड परीक्षण प्रयोगशाला सञ्चालन गर्ने प्रक्रिया अघि बढ्यो । यसबीचमा ल्याबको स्थापनामा मैले आफ्नो ठाउँबाट सक्रियतापूर्वक भूमिका खेलें ।
यो क्रममा भैरहवाका कोभिड ल्याब इन्चार्ज लक्ष्मण पंन्थीको सहयोग अविस्मरणीय थियो । उहाँबाट मैले धेरै कुरा सिकें र फोनमै ल्याबको संरचनाका बारेमा समेत सल्लाह लिएँ । पछि उहाँसँगै काम गर्ने अवसर मिल्यो जसले मेरो व्यवहारिक ज्ञानलाई थप बलियो बनायो ।
कोभिड–१९ ल्याबको संरचना स्थापना गरेर संचालनमा ल्याउन भनेजस्तो सजिलो थिएन । यो निकै महंगो र खर्चिलो भएकाले यसमा अनेक कठिनाइको सामना गर्नुपर्यो ।
यसमा गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्या, रेसुंगा नगरपालिकाको समग्र टीम, उपकरणको व्यवस्थापन÷संचालनको तारतम्य मिलाउने बायोमेडिकल टीम, राजनीतिक दल, विभिन्न पालिकाहरु, जनप्रतिनिधिहरु, सार्वजनिक, नीजि क्षेत्र, अस्पतालका सबै सहकर्मी र धेरैको विशेष सहयोग रह्यो ।
हाल म यही ल्याबमा नियमित रुपमा कोभिड परीक्षणमा जुटिरहेको छु । यसमा स सँगै मेरा सहकर्मी साथीहरुको कामप्रति लगाव, जिम्मेवारी झनै बढेको छ । हामी स्वाब परीक्षणमा खटिँदा बिहानीको सुर्यको किरणले हामीलाई कार्यस्थलमै भेट्थ्यो । त्यसैले कैयौं रात अनिदो भएर स्वाब परीक्षणमा खटियौं ।
परीक्षणको रिपोर्ट के आयो भनेर दिनमा धेरै फोनहरु आउँछन् तर कार्यव्यस्तताले त्यसको रेस्पोन्स गर्न भ्याइदैंन त्यसकारण कतिजना रिसाउनु पनि भएको होला तर यो बाध्यता बुझिदिनुहुन म आग्रह गर्दछु । हामीले सबैतिर समन्वय गर्दे नतिजालाई जतिसक्दो छिटो दिने प्रयत्न गरिरहेका छौं ।
कोभिड–१९ को सुरुवाती चरणदेखिको उच्च सर्तकता अपनाएकै कारण हालसम्म म फ्रन्टलाइनमा खटिदाँ समेत संक्रमित भएको छैन । यो मेरो लागि खुसीको कुरा हो । तर व्यक्तिगत रुपमा म मात्रै स्वस्थ्य भएर हँुदैन सबै नेपाली यो संक्रमणबाट मुक्त भई स्वस्थ्य हुनुपर्छ ।
(ल्याब टेक्नोलोजिष्ट भण्डारी हाल गुल्मी अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा कार्यरत छन् ।)