काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० लाख डोज ‘कोभिसिल्ड’ खोप ५ डलरमा खरिद गर्ने तयारी गरेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप मन्त्रालयले पुनः खरिद गर्न लागेको हो ।
यसअघि ४ डलरमा २० लाख खोप खरिदको सम्झौता भएको थियो । जसमध्ये १० लाख आइसकेको छ । मन्त्रलायले अब खरिद गर्ने खोपको मुल्य खुला बजारको दरमा हुने बताएको छ ।
मन्त्रालयले ४ डलरमा दिन आग्रह गरेपनि कम्पनीले ६ डलरभन्दा कम मुल्यमा दिन नसक्ने बताएको छ । ‘९ फागुनमा भारतबाट ल्याइएको १० लाख डोजको मुल्य पनि ४ डलर ४० सेन्ट हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, लामो प्रयासपछि भारत सरकारलाई दिएको मुल्य ४ डलरमा नेपाललाई दिन कम्पनी तयार भएको हो । अब उसले साढे ५ देखि ६ डलरभन्दा कममा दिन नसक्ने बताइसकेको छ ।’
स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय महाशाखाका एक अधिकारीले भने, ‘सेरमसँग साढे ५ डलरमा खोप खरिद गर्ने तयारी भएको छ । नेपालले प्रस्ताव पठाइसकेको छ ।’ अधिकारीहरुका अनुसार सेरमले त्यसको जवाफ पठाएको छैन । ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ ।
राष्ट्रिय खोप सल्लाहकार समितिका एक अधिकारीले मुल्य बढाएर खोप खरिद गर्न मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्नेछ । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सरकारले २० लाख डोज ४ डलरमा खरिद गरिसकेको छ । अब त्यहाँ भन्दा माथि मुल्य हाल्न मिल्दैन । त्यसैले सहजताका लागि पुनः मन्त्रीपरिषद्ले बाटो खोल्दिनु पर्छ ।’
अधिकारीहरुका अनुसार सरकारले सिधै कम्पनीसँग किने पनि कम्पनीबाट बिचौलियाले कमिसन लिने भएकाले अहिले किन्न लागेको खोप महंगो पर्ने देखिएको हो । सरकारले आगमी २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान संचालन गर्दैछ । ८ माघमा भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएपछि १४ माघबाट अभियान सुरु गरिएको हो । हालसम्म ४ लाख २८ हजारले खोप लगाइसकेका छन् ।