काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो बालकमा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको टोलीले काभ्रेका ११ महिनाको बालकको कलेजो प्रत्यारोपण गरेको हो ।
३५ वर्षीय बुवाले आफ्ना ११ महिनाका छोरालाई कलेजो दिएका हुन् । शनिबार दिउँसो तीन बजेबाट सुरु भएको प्रत्यारोपण राति १२ बजे सकिएको थियो ।
‘झण्डै १० घण्टाभन्दा बढी समय लाग्यो,’ डा. भण्डारीले हेल्थआवाजसँग भने, ‘अहिले बिरामीको अवस्था सामान्य छ ।’
बिरामीका बालकका आफन्तले विदेशमा कलेजो प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहयोग मागेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीकै उनीहरुलाई नेपालमै कलेजो प्रत्यारोपण गर्न कन्भिन्स गरेका थिए ।
प्रधानमन्त्रीकै पहलमा त्रिवि शिक्षण अस्पतालमा ती बालकको कलेजो प्रत्यारोपण गर्ने व्यवस्था गरिएको थियो । ‘प्रधानमन्त्रीले नै हामी कहाँ बिरामी पठाइदिनुभएको हो,’ डा. भण्डारी भने ।
शिक्षणको कलेजो प्रत्यारोपण टोलीलाई फोर्टिस इण्डियाबाट आएको डा. विवेकसहितको टोलीले सहयोग गरेको थियो ।
डा. भण्डारी नेतृत्वमा नेपालमा भएको यो पाँचौ सफल कलेजो प्रत्यारोपण हो । यसअघि चार पटक त्रिवि शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ ।
पछिल्लो समय कोभिड—१९ का कारण केही समय प्रत्यारोपण गर्ने क्रम रोकिएको थियो ।