काठमाडौँ – झापास्थित प्रस्तावित मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ उपदफा ६ अनुसार तत्काल सम्बन्धन पाउनुपर्ने माग गरेका छन् ।
संचालक प्रसाईले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सो उपदफामा उपत्यका बाहिर संचालन हुन चाहाने मेडिकल कलेजलाई आयोगले सहमति दिन कुनै वाधा नपर्ने भन्दै बिएण्डसीले तत्काल सम्बन्धन पाउनुपर्ने जिकिर गरे ।
‘नियम कानुनअनुसार सबै प्रक्रिया पुरा भएको छ’, उनले भने, ‘संरचना पनि मापदण्ड अनुसार सबै छ तर किन सम्बन्धन नपाउने त ?’ उनले ऐनको सोदफाको उपदफा ६ मा उपत्यका बाहिर खोलिएका र मापदण्ड पुगेका शिक्षण संस्थाको हकमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नरोकेको बताए ।
‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि उक्त ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिइ मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाको हकमा यो प्रावधान लागु हुने छैन । काठमाडौँ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले बाधा पुग्ने छैन ।’ ,चिकित्सा शिक्षा ऐनको सो उपदफामा उल्लेख छ ।
