२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’

स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’


काठमाडौं—नेपाल सरकारको महत्वकांक्षी कार्यक्रम मानेर सरकार नै सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय बीमा समितिमा गाभ्ने चलखेल सुरु भएको छ । निजी बीमा कम्पनीहरुको दबाबमा अर्थ मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई पनि त्यही मातहतमा ल्याएर सञ्चालन गर्नका लागि छलफल सुरु गरेको छ ।

सरकारको सामाजिक उत्तरदायित्वअन्तर्गतको यो कार्यक्रम गैरनाफामूलक तरिकाले सञ्चालन हुँदै आएको छ । जनताको गोजीबाट उपचारमा खर्च गर्न नपरोस भन्ने उद्देश्यका साथ सुरु गरिएको महत्वपूर्ण कार्यक्रम हो । यो महत्वपूर्ण कार्यक्रमलाई असफल बनाउन निजी बिमा कम्पनीहरुले बीमा समितिअन्तर्गत ल्याएर आफूहरुले पनि सो कार्यक्रम सञ्चालन गर्न पाउनुपर्ने भन्दै अर्थ मन्त्रालयलाई दबाद दिदैं आएका छन् ।

२४ चैतमा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकलाई अर्थ मन्त्रालयमा बोलाएर निजी बीमा कम्पनीहरुले आयोजना गरेको कार्यक्रममा यो कार्यक्रम पनि बीमा समितिअन्तर्गत ल्याउँदा के हुन्छ भनेर अर्थका अधिकारीहरुले धारणा बुझेका थिए ।

‘यो सरकारको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रम हो । उपचारमा जनताको गोजीबाट हुने खर्च कम होस भन्नका लागि सरकारले ल्याएको महत्वकांक्षी कार्यक्रम हो भनेर जवाफ दियौं,’ सो बैठकमा सहभागी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष समेत रहेका पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले भने, ‘निजी कम्पनीले नाफा हेरेर बिमा गर्छन् तर यसमा सरकारले नै ठूलो लगानी गरेर जनतालाई गरिब हुनबाट जोगाउने अभियान सञ्चालन गरेको हो । त्यसको छुट्टै ऐन नियम छ । एकै ठाउँमा सञ्चालन हुने अवस्था छैन ।’

सरकारले सञ्चालन गरेको बीमा कार्यक्रम थोरै शुल्क लिएर बाँकी सरकारले नै बीमा भरिदिदैं आएको छ । त्यसका साथै विपन्न तथा गरिब परिवारको पनि सरकारले नै बीमा गरिदिने गरेको छ । तर, नाफामूलक निजी बीमा कम्पनीहरुले गर्ने बीमा नाफा छुट्याएर मात्र प्रिमियम खोल्ने गर्दछन् ।

अहिले स्वास्थ्य बीमा ७५ जिल्लामा सञ्चालन हुँदैं आएको छ । उक्त जिल्लाका ३७ लाख ४२ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ