२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएसिड आक्रमणमा परेकाको निःशुल्क उपचार हुने, तोकिए ४ डेडिकेटेड अस्पतालमा

एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार हुने, तोकिए ४ डेडिकेटेड अस्पतालमा


काठमाडौं—सरकारले एसिड आक्रमणमा परेकाको कस्मेटिकबाहेक आजीवन निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धि कार्यविधी, २०७८’ मा यस्तो व्यवस्था गरिएको हो ।

कार्यविधीको ४ (३) मा यस्तो व्यवस्था गरिएको छ । ‘कस्मेटिक उपचारबाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च नेपाल सरकारले आवश्यक ब्यहोर्नेछ,’ उक्त बुँदामा भनिएको छ ।

मन्त्रालयले २९ भदौं २०७७ को मन्त्रिपरिषद् बैठकको आदेशअनुसार एसिड आक्रमणमा परेका पीडितहरुको निःशुल्क उपचारको संयोजन तथा सहजीकरण गर्न यो कार्यविधी ल्याएको हो ।

एसिड आक्रमण पीडित कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन पाएमा निःशुल्क प्राथमिक एवं आकस्मिक उपचार गर्नुपर्ने व्यवस्था पनि कार्यविधीमा छ । उक्त उपचारमा लागेको खर्च सरकारले शोध भर्नाका रुपमा अस्पताललाई उपलब्ध गराउनेछ ।

एसिड आक्रमणको आकस्मिक तथा प्राथमिक उपचार पश्चात रिफर गर्नुपरेमा डेडिकेडेट अस्पतालहरुमा पठाउनुपर्नेछ । एसिड आक्रमणमा परेकाहरुको उपचारका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल गरी ४ वटा डेडिकेटेड अस्पताल तोकिएको छ ।

कार्यविधीमा एसिड आक्रमणमा परेकाहरुको उपचारमा लाग्ने खर्च शोध भर्नाका लागि भुक्तानी सिफारिस समितिको व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा विभागमा महानिर्देशकको अध्यक्षतामा रहने उक्त समितिमा विभागको उपचारात्मक महाशाखाका निर्देशक, विभागको आर्थिक प्रशासन शाखा प्रमुख, स्वास्थ्य मन्त्रालयको कानुन शाखा प्रमुख सदस्य रहने व्यवस्था छ । यस्तै, उक्त समितिको सदस्यसचिव भने विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रहने व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आजीवन निःशुल्क उपचार, #एसिड आक्रमण


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ