२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन्

निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन्


काठमाडौं—नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ । दुर्घटनामा परेर तीन वर्षदेखि छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको २७ जेठमा उद्धार गरेकी थिइन् । हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।

उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ ।

हाल नर्भिक अस्पतालले ह्वीलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ ।

अहिले उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन् । उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन् । उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन् । ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ,’ उपचार संलग्न चिकित्सहरु भन्छन्, ‘क्रमसः अवस्थामा सुधार भइरहेको छ ।’

उनले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ ।

डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ,’ डा. जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वील चेयरमा समेत बसाउन सुरु गरेका छौं ।’

निशाको अवस्थालाई उनले ‘जनरल कण्डीसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए ।

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाडौंमा ल्याएर राष्ट्रिय ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।
नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ