काठमाडौं—कोभिड—१९ विरुद्धको पहिलो डोज खोप लगाउने दक्षिण पूर्वी एसियाका देशहरुमा नेपाल पाँचौ स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रकाशित गरेको तथ्यांकअनुसार दक्षिण पूर्वी एसियाली १० देशमध्ये नेपाल पाँचौ स्थानमा रहेको हो ।
त्यसैगरी कोभिड—१९ विरुद्धमा दुवै डोज खोप लगाउनेमा नेपाल सातौ नम्बरमा छ । नेपालमा हालसम्म प्रति १०० जनामा एक डोज लगाउने ८ दशमलव २ जना र दुवै डोज लगाउने २ दशमलव ३ जना रहेका छन् ।
हालसम्म एक डोज सबैभन्दा बढी लगाउने भुटान पहिलो नम्बरमा छ । उसले ६४ प्रतिशतलाई पहिलो डोज खोप लगाइसकेको छ । भुटानमा दोस्रो डोज कतिले लगाए भन्ने कुरा तथ्यांकमा उल्लेख छैन ।
त्यस्तै, दोस्रो नम्बरमा माल्दिभ्स ५७.५ प्रतिशतलाई पहिलो डोज खोप लगाइसकेको छ । उसले ३२.८ प्रतिशतलाई दोस्रो डोज पनि खोप दिइसकेको छ ।
तेस्रो नम्बरमा रहेको भारतले १५ प्रतिशत जनसंख्यालाई पहिलो डोज लगाएको छ । भारतले दोस्रो डोज खोप ३.५ प्रतिशतलाई लगाएको छ ।
भारतपछि बढी पहिलो डोज खोप लगाउनेमा श्रीलंका छ । उसले जनसंख्याको १०.५ प्रतिशतलाई पहिलो डोज खोप दिइसकेको छ । छैटौ स्थानमा टिमोर लिस्टे, सातौ नम्बरमा इन्डोनेसिया र आठौं नम्बरमा थाइल्याण्ड, नवौं नम्बरमा बंगलादेश र दशौं नम्बरमा म्यानमार रहेका छन् ।
२१ जुनमा संकलन गरिएको तथ्यांकअनुसार बंगलादेशमा ५८ लाख २२ हजार १ सय ७७ जनाले पहिलो डोज खोप लगाएका छन् । त्यसैगरी भुटानमा ४ लाख ८४ हजार १ सय ९८ जना, भारतमा २१ करोड २४ लाख ७७ हजार ८० जना, इन्डोनेसियामा २ करोड ९ लाख ४ हजार ७ सय २३ जना, माल्दिभ्समा ३ लाख १४ हजार १ सय ७४ जना, म्यानमारमा १७ लाख ७२ हजार १ सय ७७ जना, नेपालमा २४ लाख ५१ हजार ९ सय २५ जना, श्रीलंकमा २३ लाख १७ हजार १२ जना, थाइल्याण्डमा ४५ लाख ३१ हजार ९ सय १४ जना र टिमोर लिस्टेमा १ लाख ३ हजार ८ सय १३ जनाले पहिलो डोज खोप लगाएका छन् ।
त्यसैगरी, बंगलादेशमा ४२ लाख ५७ हजार ४ सय ९९ जना, भुटानमा उपलब्ध छैन, भारतमा ४ करोड ९२ लाख ६३ हजार १ सय ९३ जना, इन्डोनेसियामा १ करोड १६ लाख ९९ हजार २१ जना, माल्दिभ्समा १ लाख ७९ हजार ४ सय ३६ जना, म्यानमारमा १२ लाख २२ हजार ७ सय २३ जना, नेपालमा ६ लाख ९१ हजार ४ सय ९४ जना, श्रीलंकामा ६ लाख १३ हजार २ सय जना, थाइल्याण्डमा १६ लाख ५६ हजार २ सय १० जना र टिमोर लिस्टेमा ६ हजार ७ सय १८ जनाले दोस्रो डोज खोप लगाइसकेका छन् ।

हालसम्म कोभिड—१९ विरुद्धको खोप लगाएको अवस्था हेर्दा दक्षिणपूर्वी एसियाली देशहरुमा तुलना गर्दा नेपालमा अवस्था नराम्रो नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । पहिलो डोज कोभिशिल्ड लगाएर दोस्रो डोजको पर्खाइमा बसिरहेकाहरुलाई खोप चाडो उपलब्धता गराउनु मन्त्रालयका लागि चुनौती रहेको उनको भनाइ छ । ‘सेरोरिजनको तथ्यांक हेर्दा हामी खोप लगाउने देशहरुमध्येमा खराब अवस्थामा छैनौं,’ उनले भने, ‘तर, पहिलो डोज कोभिशिल्ड दिइसकेका नागरिकलाई दोस्रो डोज चाडोभन्दा चाडो लगाउन हामीलाई चुनौती छ ।’
हालसम्म खोप नै कोभिड—१९ बाट सुरक्षा गर्ने प्रमुख माध्यम भएतापनि सबैले खोप नपाउन्जेलसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य अपनाउनुपर्ने उनको सुझाव छ ।