२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमदन भण्डारीले परिकल्पना गरेको नेपालको स्वास्थ्य

मदन भण्डारीले परिकल्पना गरेको नेपालको स्वास्थ्य


काठमाडौं—नेकपा एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीको आज ७० औं जन्मजयन्ती हो । वि.सं. २००९ साल असार १४ गते उनको जन्म ताप्लेजुङको ढुंगेसाँधुमा भएको थियो ।

नेपालमा मदनलाई मृत्युपछि पनि जीवित राख्ने धेरै कुराहरु छन् । उनको व्यक्तित्व, अगाडि सारेको सैद्धान्तिक मान्यता ‘जनताको बहुदलीय जनवाद’ जबज त्यसमध्ये प्रमुख कारण हुन् ।

वि.सं. २०५० साल जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा निधन भएका मदन एमालेको महासचिवका रुपमा निकै लोकप्रिय भए । उनले बहुदलीय प्रतिस्पर्धामार्फत कम्युनिष्ट शासन स्थापना गर्न सकिन्छ भन्ने सिद्धान्त अगाडि सारेर चर्चा कमाए ।

वि.सं. २०४९ साल माघमा सम्पन्न एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव जननेता भण्डारीले पेश गरेको जबजमा स्वास्थ्यलाई महत्वका साथ समेटिएको छ । जबज पास भएको एक वर्षमै संगठन विभाग प्रमुख जीवराज आश्रितसँगै उनको निधन भएको थियो ।

अहिले मुलुकमा कर्पोरेट स्वास्थ्य प्रणालीको जगजगी बढिरहेको र पैसा नहुनेले उपचार नै नपाएर अस्पतालमा बन्धक बन्नु परेका घटना सार्वजनिक भइरहेका बेला मदनको स्वास्थ्यलाई मावनअधिकारकै रुपमा अंगीकार गर्नुपर्ने परिकल्पना निकै वस्तुवादी र वैज्ञानिक देखिन्छ । एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक अंकुपञ्चर र प्राकृतिक उपचार पद्धतिलाई उनले अगाडि सारेको जबजमा समन्वयात्मक ढंगले विकास गर्ने उल्लेख छ ।

स्वास्थ्य सेवालाई अत्यावश्क र विशिष्ट सेवाका रुपमा छुट्टै संवैधानिक एवं कानुनी व्यवस्था गर्ने परिकल्पना उनले गरेका छन् । ‘स्वास्थ्य सेवालाई अत्यावश्क एवं विशिष्ट सेवाका रुपमा छुट्टै संवैधानिक एवं कानुनी व्यवस्था गरिनेछ,’ भण्डारीले प्रतिपादन गरेको जबजमा छ, ‘सबै खाले स्वास्थ्यकर्मीहरुका छुट्टाछुट्टै स्वायत्त पेशागत संगठनहरुमार्फत हकहितको संरक्षण र मर्यादिने सेवा पु¥याउने वैधानिक व्यवस्था गरिनेछ ।’

भण्डारीले स्वास्थ्य सेवाको क्रममा हुने दुर्घटना एवं हानी नोक्सानीको क्षतिपूर्ति दिइने व्यवस्थाको पनि परिकल्पना गरेका छन् । जबजमा राष्ट्रिय औषधी नीति बनाइने, औषधीमा राष्ट्रिय आत्मनिर्भरताको नीति लिइने र बहुराष्ट्रिय औषधी कम्पनीहरुको शोषणबाट देशलाई मुक्त गर्ने कुराको परिकल्पना गरिएको छ ।

गैर सरकारी स्वास्थ्य संस्थालाई राष्ट्रिय स्वास्थ्य नीतिअन्तर्गत निर्देशित गर्ने पनि जबजमा उल्लेख छ ।

मदन भण्डारीले जबजमा परिकल्पना गरेको नेपालको स्वास्थ्य जस्ताको तस्तै

३.१३. स्वास्थ्यको सम्बन्धमा
-स्वास्थ्य सेवाको विद्यमान स्वरूपमा आमूल परिवर्तन गरी स्वास्थ्यलाई मानवअधिकारकै रूपमा तथा सुविधा होइन, अधिकार हो भन्ने तथ्यलाई अङ्गीकार गरी सोअनुरूपका नीतिहरू तय गरिनेछ । एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक, अक्युपञ्चर र प्राकृतिकलगायत सबै उपचार पद्धतिलाई समन्वयात्मकढङ्गले विकास गरिनेछ ।

-स्वास्थ्य सेवालाई अत्यावश्यक एवम् विशिष्ट सेवाको रूपमा छुट्टै सम्वैधानिक एवम् कानुनी व्यवस्था गरिनेछ । साथै, सबैखाले स्वास्थ्यकर्मीहरूका छुट्टाछुट्टै स्वायत्त पेशागत सङ्गठनहरूमार्फत हकहितको संरक्षण तथा मर्यादित सेवा पुर्‍याउने वैधानिक व्यवस्था गरिनेछ ।

-जनतालाई स्वास्थ्य सेवाको क्रममा हुने दुर्घटना एवम् हानी नोक्सानीको क्षतिपूर्ति दिइने कानुनी व्यवस्था गरिनेछ ।

-औषधी व्यवस्था अत्यावश्यक राष्ट्रिय औषधी नीति प्रयोग गर्ने प्रोटोकल व्यवस्था तथा यस क्षेत्रमा राष्ट्रिय आत्मनिर्भरताको नीति लिइनेछ र बहुराष्ट्रिय औषधी कम्पनीहरूको शोषणबाट देशलाई मुक्त गरिनेछ ।

-गैरसरकारी स्वास्थ्य संस्थाहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिअन्तर्गत निर्देशित दिशामा काम गर्न प्रोत्साहित गरिनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #जनताको बहुदलीय जनवाद, #नेकपा एमाले, #परिकल्पना गरेको नेपालको स्वास्थ्य, #स्व. मदन भण्डारी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ